बिर्तामोड :  झापालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने गरी अभियान अगाडि बढेको बताए ।

यही असार ३० गते प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्न लागिएको जानकारी दिँदै उनले यस कार्यमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाले गरिरहेको योगदानको उच्च प्रशंसा गरे ।

जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् खोप समन्वय समितिका संयोजक विश्वनाथ बरालले पूर्ण खोप सुनिश्चित कार्यलाई निरन्तरता दिन सबैले योगदान र भूमिका खेल्नुपर्ने बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जिल्लाका १५ वटै स्थानीय तहबाट प्राप्त तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताए ।

उनले राष्ट्रिय खोप तालिकानुसार झापा जिल्लाभरिका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि यस्तो घोषणा गरिएको जानकारी दिए । बाराकोटीका अनुसार यहाँ रहेका २८७ खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यसैबीच, स्वास्थ्य कार्यालय झापाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुन लागेका २६ महिला स्वास्थ्य स्वयमसेविकालाई नगद २० हजारसहित सम्मान गरेको छ ।

त्यस्तै, सबै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वस्थ्यकर्मीबाट एकएकजनालाई सम्मान गरिएको छ ।