काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपा एमालेले ८ वटा मन्त्रालय पाएको छ । प्रधानमन्त्रीसहित सरकारमा एमालेका १० जना नेताको सहभागिता रहने भएको हो ।

प्रधानमन्त्रीसहित अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय एमालेको भागमा परेका छन् । एक नेताका अनुसार एमालेले भूमि व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्रलाय पनि पाएको छ ।

यसबाहेक भौतिक पूर्वाधार, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एमालेको भागमा परेको ती नेताले जानकारी दिए । मन्त्रालय टुंगिए पनि एमालेबाट सरकारमा जाने मन्त्रीहरू सबैको नाम भने अझै तय भइसकेको छैन ।

बाहिर चर्चा आएका नामहरू अनुमानमात्र रहेको भन्दै उनले यसपटक अनुभवी र सिनियर नेताहरूसहित एकाध नयाँले अवसर पाउने बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले शीर्ष नेताहरूसँग मन्त्रीका नामबारे अन्तिम चरणमा परामर्श गर्ने बताइएको छ ।

एमालेले पाएका मन्त्रालयहरू चलाउन सक्ने अनुभवी, योग्य तर त्यस मन्त्रालयको विषयगत ज्ञान भएकै नेताहरूलाई पठाइने भएको छ ।