झापाको कनकाई माईधाम कोटिहोममा श्रावणी सोमबारे धार्मिक मेला आयोजना हुने भएको छ । विगतको वर्षमा भव्यरुपमा आयोजना हुने गरेको सोमबारे धार्मिक मेला कोरोना कहरले गर्दा धाम समितिले आयोजना स्थगन गरेको थियो । 

झापाको कनकाई नगरपालिका–४ मा अवस्थित संस्थामा कनकाई धाम धार्मिक विकास समितिले यस वर्षदेखि भगवान शिवको महिना साउनमा पर्ने सोमबार धार्मिक मेला योजना गर्ने तयारी गरिएको जनाएको छ । 

श्रावण महिनाको प्रत्येक सोमबार कनकाई आरती, रुद्राभिषेक, हवन, भजनकिर्तन, झाँकी, शिव ताण्डप नृत्यलगायतका कार्यक्रम गर्ने तयारी गरेको कनकाई धाम धार्मिक विकास समितिका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए ।  

यस बर्षदेखि कनकाईमाई नदीबाट जल ल्याएर कनकेश्वर शिव पञ्चायन मन्दिरमा जल चढाइने, प्रत्येक सोमवार रुद्राभिषेक हवन तथा भजनकिर्तन गरिने, धाममा रहेको गुरुकुलको बिकास र बिस्तार गरिने, गौशलाको बिकास गरिने, गंगा आरती जस्तै कनकाई आरतीको शुरुवात गरिने कनकाई धाम धार्मिक विकास समितिले जनाएको छ । 

२०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथले कोटीहवन गराएर शुरु भएको धार्मिकस्थल कनकाई धाम कोटीहोम तीन बिगाहा १३ कठ्ठा १० धुर क्षेक्रफलमा छ ।  धार्मिक संस्थामा फुलवारी सहित कोटी यज्ञ मण्डप, शिव पन्चायन, कनकेश्वर महादेव, ब्रम्हलिङ्ग मन्दिर, गणेश हनुमानजी, स्तम्भ, योगी नगरहरि गुरुको प्रतिमा मुर्ति, दुर्गा भगवतीको मन्दिर, हरेक थर गोत्रिय बन्धुहरुको गोत्रिय ऋषिमुनिका मठमन्दिर सहितका संरचना छन् । 

सोमवार कनकाई आरतीको सुरुवात गरिने तथा हरेक सोमवार देशका चर्चित कलाकारहरु, धु्रब पाठक, राजु अधिकारी, दुर्गा ओली, तुलसा पाठक लगायातका साथमा भजन किर्तन गरिन लागेको जनाइएको छ । 

त्यस्तै झापा दमक ६ निवासी हिरण्यकुमार ढुङ्गेल र श्रीमती दुर्गादेवि ढुङ्गेलले २५ लाख रुपैँया खर्चिएर लक्ष्मीनारायणको मन्दिर निर्माणको घोषणा गरेका छन् । धाम परिसरमा एक कार्यक्रमकाबिच मन्दिरको शिलन्यास समेत गरिएको छ ।