झापा
झापाकाे बिर्तामोड– ३ स्थित बिर्ताबजारबाट नक्कली नागरिकतासहित एक व्यक्ति पक्राउ परेका छन् ।
शिवसताक्षी– ११ बस्ने २३ वर्षीय पप्पु ठाकुरलाई नक्कली नागरिकतासहित ३ नम्बर वडा कार्यलय नजिकै रहेकाे बिर्ताबजारस्थित शिवम् मिठाइ पसलबाट प्रहरीले आज पक्राउ गरेको हो ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईको नेतृत्वमा खटिएको जिल्ला प्रहरी कार्यलय झापाका सादा पोशाकका प्रहरी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले ठाकुरलाई नक्कली जस्ताे देखिने नेपाली नागरिकता सहित पक्राउ गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईले जानकारी दिए ।
पसल संचालकले जिल्ला प्रशासन कार्यालय झापालाई दिएको सूचनाको आधारमा उनलाई प्रकाउ गरिएकाे प्रशासनकाे भनाई छ । उनलाई जिल्ला प्रहरी कार्यलय झापामा राखिएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्ने पप्पु ठाकुरसंग उनका बुवा राजकुमार ठाकुरको नाम भएको नक्कली नागरिकता फेला परेको हो । जुन नागरिकतामा ठेगाना सप्तरी गाउँपालिका वडा नं ५ राजगढ उल्लेख गरिएको छ ।
अढाई लाख रुपैयाँ खर्च गरेर ठाकुरले सो नागरिकता किनेको बताइएको छ ।

बिर्ताबजारका एक व्यक्तिले सो रकम लिएर नक्कली नागरिकता बनाइदिएपछि नक्कली नागरिकता फिर्ता गरी आफ्नो रकम माग्न आउँदा ठाकुर पक्राउ परेको जनाइएको छ । नागरिकता बनाइदिने व्यक्ति भने पक्राउ परेका छैनन् ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंका अनुसार पूर्वी नेपालमा नक्कली नागरिकता बनाउने एउटा ठूलो गिरोह सक्रिय छ। जसले नक्कली नागरिकता बनाएर बेचेर मोटो रकम असुलिरहेको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान गरिरहेकाले थप कुरा खुल्दै जाने उनले जनाए।









































