जिल्ला समन्वय समिति झापाले गरेको असल अभ्यास मूल्यांकनमा हल्दिबारी गाउँपालिका प्रथम भएको छ ।
सेवा प्रवाह, कार्यसम्पादन मूल्याङ्कन लगायतका विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा प्रभावकारी काम गरेकोल हल्दिबारी गाउँपालिकालाई जिल्लाका सात गाउँपालिकामध्ये प्रथम भएको हो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालले जनप्रतिनिधि र कर्मचारीहरूको इमान्दारिता तथा समन्वयका कारण हल्दिबारी गाउँपालिका असल अभ्यासको नमुना बन्न सफल भएको बताए । उनले सीमित स्रोतसाधन हुँदाहुँदै पनि देखिएको परिणाम प्रशंसनीय रहेको उल्लेख गरे ।

गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले प्राप्त सम्मानले खुशीसँगै थप जिम्मेवारी र चुनौती पनि थपिएको बताए । उनले यस उपलब्धिलाई जोगाएर राख्दै अझ प्रभावकारी सेवा प्रवाहमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराल, विशेष अतिथि जिल्ला समन्वय अधिकारी अमृतबहादुर राई रहनुभएको थियो भने कार्यक्रममा गाउँपालिका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
गाउँपालिकाको बारेमा छोटो प्रस्तुतीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले गरेका थिए ।









































