दमक
झापाको दमकबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो दमक नगरपालिका–८ स्थित कञ्चनजंगा होटलमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय दमकको टोलीले होटलको कोठा नं. ८ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले सो कोठाबाट मोरङ मिक्लाजुङ गाउँपालिका–३ बस्ने १९ वर्षीया मनिका राई, झापा दमक नगरपालिका–१ बस्ने २६ वर्षीय सुरज कुमाल र दमक नगरपालिका–१ का ३१ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।
प्रहरीले विभिन्न दरको नगद रु ३३ हजार सहित खैरो हेरोइन जस्तो देखिने लागुऔषध ६ ग्राम ७८० मिलिग्राम बरामद गरेको छ ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।










































