झापा
झापाको कनकाई नगरपालिका–३ नयाँबस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअप गाडी र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा एक बालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
मिति २०८२ साल माघ १ गते बिहान करिब ९ः३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालवाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा पिकअपमा सवार झापा भद्रपुर नगरपालिका–४ निवासी १ वर्ष ६ महिनाको आरुति राजवंशीको उपचारका लागि अस्पताल पुर्याउने क्रममा बिहान १०ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल र बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ। बी एण्ड सी अस्पतालमा ३ जना घाइतेको उपचार भइरहेको छ भने बिर्तासिटी अस्पतालमा १० जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था गम्भीर, केहीको मध्यम तथा केहीको सामान्य रहेको छ।
पिकअप चालक झापा बिर्तामोड नगरपालिका–६ निवासी ३९ वर्षीय जाकिर हुसेन प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनामा संलग्न बसका चालक भने घटनापछि फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।









































