झापा । हल्दीबारी गाउँपालिकाको आयोजनामा हल्दीबारी–१ स्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित अन्तरमाध्यमिक विद्यालय राष्ट्रपति रनिङशील्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

गत २८ गतेदेखि सुरु भएको यस प्रतियोगितामा पालिकाभित्रका १४ विद्यालयका करिब १२०० खेलाडीले एथलेटिक्स लगायत विभिन्न खेल विधामा उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगिताभर कुल ४२ स्वर्ण, ४१ रजत र ५३ कास्य पदकका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै जनजागृति माध्यमिक विद्यालयले १२ स्वर्ण, ९ रजत र ८ कास्य पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको छ।

​प्रतियोगितामा निकै कडा प्रतिस्पर्धाका बीच हल्दीबारी माध्यमिक विद्यालयले ९ स्वर्ण, १० रजत र १० कास्य पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको छ भने लक्ष्मी माध्यमिक विद्यालयले ७ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ।

त्यसैगरी, गोल्धाप सन साइन्सले ५ स्वर्ण, ३ रजत र २ कास्य पदक हात पार्दा चिल्ड्रेन गार्डेन अंग्रेजी माविले ३ स्वर्ण, ५ रजत र ३ कास्य तथा सिग्मा अंग्रेजी माविले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक जितेका छन्।

अन्य विद्यालयहरूमा क्यानरी एकेडेमी, जसोदा अंग्रेजी मावि, कृष्णसागर अंग्रेजी मावि, चिल्ड्रेन गार्डेन एकेडेमी, पञ्चायत मावि, सरस्वती मावि, महेन्द्र मावि र संस्काराले पनि आ-आफ्नो क्षमता अनुसार स्वर्ण, रजत तथा कास्य पदकहरू प्राप्त गर्न सफल भए।

​व्यक्तिगत तर्फको एथलेटिक्स विधामा हल्दीबारी माविकी समीक्षा हेमारम (छात्रा) र जनजागृति माविका सुमन राई (छात्र) उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी चुम्न सफल भए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई छनोट गरी जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा सहभागी गराइने र त्यसका लागि विशेष प्रशिक्षण तथा बन्द शिविरको आयोजना गरिने राष्ट्रपति रनिङशील प्रतियोगिता आयोग समितिका संयोजक एवं हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिए।

​समापन समारोहमा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन लगायत वडा नम्बर १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नम्बर २ का वडाध्यक्ष शूकालाल राजवंशी र अन्य जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका अतिथिहरूले विजयी विद्यालय तथा खेलाडीहरूलाई मेडल र ट्रफी वितरण गर्दै खेलकुदले विद्यार्थीमा अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।