पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुरका डेढ वर्षीय बालिक आरुती राजवंशी र भद्रपुरकै ४० वर्षीया सुस्मा राजवंशीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ न. को बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा परी पिकअपमा सवार अन्य १२ जना घाइते भएका हुन् ।
घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । माघ १ गते माघे संक्रान्तिको अवसरमा माई नदीमा ठुलो मेला लाग्ने गरेको छ । उक्त पिकअप भ्यानमा माई मेला गएका यात्री रहेको प्रहरीले जनाएको छ ।









































