झापा-
झापामा फागुन २१ मा घाेषणा गरिएकाे निर्वाचनको औपचारिक तयारी तीव्र पारिएको छ।
निर्वाचन कार्यतालिका अनुसार शुक्रबार आज झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएका छन्।
जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका कार्यालयहरूमध्ये क्षेत्र नं. ३ तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालय, भद्रपुरमा स्थापना गरिएको छ ।
क्षेत्र नं. १ का लागि मेचीनगर नगरपालिका, क्षेत्र नं. २ का लागि अर्जुनधारा नगरपालिकामा, क्षेत्र नं. ४ का लागि कनकाई नगरपालिकामा र क्षेत्र नम्बर ५ का लागि कृषि केन्द्र, दमक- ८ मा स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश उमेशप्रसाद लुइटेलले भद्रपुरमा आयोजित एक समारोहका बीच कार्यालयको उद्घाटन गरे।
सो अवसरमा बोल्दै उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन राजनीतिक दल, नागरिक समाज र आम मतदाताको सक्रिय सहयोग आवश्यक रहेको औँल्याए। उनले निर्वाचनलाई एक उत्सवको रूपमा सफल बनाउन संयन्त्र तयार रहेको समेत स्पष्ट पारे।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै मतदानस्थलहरूको संवेदनशीलता र सुरक्षा चुनौतीका आधारमा सुरक्षाकर्मी परिचालन गरिने बताए।
उनले मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता प्रदान गर्न प्रशासन प्रतिवद्ध रहेको उल्लेख गरे।









































