पोखरा — निर्वाचन आयोगको विश्वसनीयतामाथि आँच आउने गरी भ्रामक प्रचार गरेको आरोपमा मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार पोखरामा पक्राउ परेका छन् । उनलाई पोखरा विमानस्थल नजिकैबाट कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर निर्वाचन नतिजा आफ्नो पक्षमा पारेको भन्दै एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयलाई लिएर आयोगले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए ।
अनुसन्धानका लागि दुई युनिट परिचालन
निर्वाचन आयोगले प्रसाईंको अभिव्यक्तिले संवैधानिक निकायको प्रतिष्ठामा गम्भीर आघात पुर्याएको ठहर गर्दै कारबाहीका लागि नेपाल प्रहरीको दुईवटा युनिटलाई पत्राचार गरेको थियो । सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको विषयमा डिजिटल फरेन्सिक अनुसन्धानका लागि प्रहरीको साइबर ब्युरो र पक्राउ पुर्जी कार्यान्वयन र थप कानुनी प्रक्रिया अघि बढाउनका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँलाई आयोगले पत्र पठाएको थियो ।
के थियो आरोप
प्रसाईंले केही दिनअघि सार्वजनिक गरेको एक भिडियोमा कांग्रेसभित्रको आन्तरिक विवाद र निर्वाचनको प्रसङ्ग जोड्दै आयोगका पदाधिकारीहरूले मोटो रकम लिएर नतिजा हेरफेर गरिदिएको दाबी गरेका थिए । आयोगले उक्त दाबी पूर्णतः निराधार, भ्रामक र संस्थाको छवि धमिल्याउने नियतले आएको भन्दै गृह मन्त्रालयमार्फत प्रहरीलाई उजुरी गरेको थियो ।
प्रहरीका अनुसार उनलाई अहिले पोखराबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ । काठमाडौँ ल्याएपछि उनीमाथि साइबर अपराध वा सार्वजनिक शान्तिविरुद्धको कसुरमध्ये कुन मुद्दा चलाउने भन्नेबारे थप परामर्श हुने प्रहरीले जनाएको छ ।









































