विर्तामोड :  नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले निर्वाचन आचारसंहिता पालना गरेर उम्मेद्वारको मनोनयन दर्ता एवं चुनावी कार्यक्रमहरुमा सहभागी हुन कार्यकर्ता र शुभचिन्तकलाई आह्वान गर्नुभएको छ ।

निर्वाचन आयोगले मनोनयन दर्तालाई ब्यवस्थित एवं मर्यादित बनाउन नेपाली कांग्रेसलाई २ बजेको समय उपलब्ध गराएको जानकारी दिदै सभापति थेवेले सो समयमा सम्बन्धित क्षेत्रमा स्थापना भएका निर्वाचन कार्यालयमा उपस्थित हुन कार्यकर्ता र शुभचिन्तकलाई आह्वान गर्नुभएको हो । निर्वाचन आयोगले माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता कार्यक्रम तय गरेको छ ।

नेपाली कांग्रेस झापाका पदाधिकारी एवं क्षेत्रीय सभापतिहरुको संयुक्त बैठकमा सभापतिको आशनबाट बोल्दै नेता थेवेले मुलुकमा लोकतान्त्रिक शासन पद्धति र राजनीतिक स्थायित्वका लागि रुख चुनावचिन्ह लिएर निर्वाचनमा होमिएका उम्मेद्वारलाई एकजुट भई अत्यधिक बहुमतले जिताउन आम मतदातालाई अपिल गर्नुभएको हो ।

देशको संविधान र लोकतन्त्रको रक्षा, जनजीविका, बिकास र स्थिरतासहितको समुन्नतिको यात्रालाई सुनिश्चित गर्न नेपाली कांग्रेसको बिजय अपरिहार्य भएको बताउँदै सभापति थेवेले राष्ट्र जोगाउन, मेलमिलापसहितको  सुदृढ समाजको सिर्जना गर्न सबै लोकतन्त्रवादी, देशभक्त नेपालीले सदभावसहितको सहयोग गर्नुहुने  बिश्वास ब्यक्त गर्नुभएको छ ।

निर्वाचन आयोगले विभिन्न चरणमा राजनीतिक दलका प्रतिनिधिहरुसँग गरेको छलफलका क्रममा भएका अन्तरसंवादहरुको चर्चा गर्दै उहाँले आचारसंहिताको पालना नगरे उम्मेद्वारी खारेजसम्मको ब्यवस्था रहेको चर्चा गर्दै आचारसंहिता पालनामा जोड दिनुभएको हो ।

उम्मेद्वारले चुनाव प्रचारप्रसारका क्रममा हुने खर्चमा मितब्ययिता अपनाउन अपिल गर्दै उहाँले सामाजिक संजाल प्रयोग गर्दा साबधानी अपनाउन पनि आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगले यसपटक १५ दिनमात्रै चुनावी प्रचार–प्रसार गर्न पाइने ब्यवस्था गरेको छ । जस अन्तर्गत माघ ६ गते उम्मेद्वारको मनोनयन दर्तापछि माघ ९ गते आयोगले चुनावचिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ४ गतेदेखि १७ गतेसम्म मात्रै चुनाव प्रचार गर्न पाइने निर्वाचन कार्यतालिका आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।