बिर्तामोड ।
नेपाल शैक्षिक परामर्श संघ(इक्यान) झापाले आर्थिक अभावका कारण उपचारमा समस्या भएका एक विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । बिर्तामोड नगरपालिका –३ निवासी १६ वर्षीय आर्यनकुमार महत्तोको उपचारमा इक्यान झापाले आर्थिक सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व विभागले एक कार्यक्रमका बीच ३६ हजार रुपैंया आर्थिक सहयोग गरेको इक्यान झापा अध्यक्ष राज कार्कीले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले थोरै भए पनि उनको उपचारमा सहजता प्रदान गर्न सहयोग गरेका बताए ।
एप्लास्टिक एनीमिया नामक रोगका कारण हाल भारतको नयाँदिल्ली स्थित एम्स हस्पिटलमा उपचारत रहेका महत्तोलाई शैक्षिक परामर्शसंगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको इक्यान झापाले आर्थिक अभावका कारण उपचारमा कठिनाई भएका किशोरलाई सहयोग उपलब्ध गराएको हो ।
बिर्ताबजारस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा अध्ययनरत महत्तोको बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएको र उनको उपचारमा करिब ५० लाख रुपैंया खर्च लाग्ने उनका मामा प्रमोद महत्तोले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले आफु पनि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत रहेकाले एक विद्यार्थीको उपचारमा इक्यानले सहयोग गरेको भन्दै सानो सहयोगले पनि यस्तो अवस्थामा ठूलो मदत पुग्ने धारणा ब्यक्त गरे ।
इक्यान झापाका अध्यक्ष कार्कीले शैक्षिक परामर्शसंगै सामाजिक क्षेत्रमा समेत इक्यान झापाले विभिन्न कार्यक्रमहरु गर्दै आएको र एक विद्यार्थी आर्थिक अभावकै कारण उपचारमा बञ्चित हुनु नपरोस् भनेर सानो सहयोग लिएर घरमै आएको बताए ।
इक्यान झापाका उपाध्यक्ष एवम् सामाजिक उत्तरदायित्व विभाग सीएसआर प्रमुख अशोक भण्डारीले नेपाल शैक्षिक परामर्शसंघ इक्यान झापाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले एक विद्यार्थीको उपचारमा इक्यानको तर्फबाट सहयोग गर्ने अवसर प्राप्त भएको भन्दै सानै उमेरमा जटिल रोगको सामना गरिरहेका महत्तोको स्वास्थ्य लाभको समेत कामना गरे ।
कार्यक्रममा इक्यान झापाका संस्थापक अध्यक्ष एवम् प्रमुख सल्लाहकार सुमान शर्मा जमरकट्टेल, इक्यान झापाका कोषध्यक्ष तुलसी पाठक, इक्यान झापाका कार्यसमिति सदस्य एवम् संगठन विभाग प्रमुख मोहन पराजुली, सामाजिक उत्तरदायित्व विभाग सीएसआरका सदस्य कृष्ण खतिवडा, सञ्जय पौडेल लगायतको सहभागिता रहेको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै आर्यनका मामा प्रमोद महत्तोले नेपाल शैक्षिक परामर्श संघ इक्यान झापालाई धन्यवाद दिए । उनले इक्यान झापालाई सहयोगको याचना गर्दा घरमै आएर सहयोग गरेको भन्दै खुशी ब्यक्त गरे ।








































