झापा
झापाको भद्रपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । भद्रपुर स्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा १५ वर्षपछि अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको हो ।
माघ २१ गतेदेखि सञ्चालन हुने कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप प्रतियोगिताको तयारी लगभग अन्तिम अवस्थामा पुगेको भद्रपुर क्रिकेट क्लबले आज आइतबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
कोशी पर्यटन वर्षका अवसरमा प्रदेश सरकारको सहयोगमा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको मूल आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले जानकारी दिए । खेल क्षेत्रको प्रबद्धन र खेलाडि उत्पादनलाई बढवा दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
अहिले क्रिकेट पिच, मैदान, बाँसे प्यारापिट, स्कोर बोर्ड, पेविलियन लगायत अन्य तयारीको काम धमाधम भइरहेको छ । ८ हजार दर्शक क्षमताको मैदान आकर्षक बनाइएको छ । प्रतियोगिता निशुल्क हेर्न सकिने छ ।
माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका चार वटा र भारतका चार वटा गरी आठ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, फ्रेन्डस् यूथ क्लब डडेलधुरा, डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाडल रहेका छन् ।
त्यस्तै भारतको तर्फबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेका छन् ।
नेपालका क्लबहरूमा राष्ट्रिय टोलीका खेलाडीबाहेक एनपीएल खेलिसकेका खेलाडीहरू र भारतका क्लबहरूमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरूको सहभागिता रहने जनाइएको छ । सरोकारवाला भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले पनि यो प्रतियोगिता भद्रपुरको मात्र नभइ राष्ट्यको नै गौरब भएको बताएका छन् ।
एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ। त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने छन् । उदीयमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउने छन् ।
यसअघि २०६५ जेठ २१ गते नेपाल क्रिकेट संघ र मेची बहुमुखी क्याम्पसबीच क्याम्पस परिसरमा क्रिकेट मैदान सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको थियो ।
संघको तर्फबाट सदस्य छत्रप्रसाद अधिकारी र क्याम्पसको तर्फबाट तत्कालीन क्याम्पस प्रमुख टीका प्याकुरेलले हस्ताक्षर गरेपश्चात् क्रिकेट संघले क्रिकेट पिच बनाइदिएको थियो।
खेल मैदान तयारी भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागितामा २०६७ फागुनमा बिनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो। सो प्रतियोगिता नेपाल सशस्त्र प्रहरी बलले उपाधि जितेको थियो।
त्यसपछि कुनै प्रतियोगिता नभएर ओझेलमा परेको जीर्ण क्रिकेट मैदानलाई पुनः सञ्चालनमा ल्याउनका यहाँका उद्योगी, व्यवसायी, जनप्रतिनिधि र खेलप्रेमी जुरमुराए। र, २०८० सालमा भद्रपुर क्रिकेट क्लब गठन गरी प्रक्रिया अघि बढाउँदै मेची क्याम्पससँग १९ बुँदे सम्झौता गरी खेल मैदान २५ वर्षसम्म भाडा (लिज) मा लिएको क्रिकेट क्लबले जनाएको छ ।
काँसघारी रहेको मैदानलाई दुई वर्षभित्र स्तर उन्नती गरेर यहाँसम्म पु¥याएको क्लबले जनाएको छ । कोशी सरकार, भद्रपुर नगरपालिका र विभिन्न दाताहरूको सहयोगमा निर्माण गरिएको यो क्रिकेट ग्राउन्ड कोशी प्रदेशकै उत्कृष्ट पिचसहितको खेल मैदान भएको आयोजकले जनाएको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले पनि यो क्रिकेट ग्राउण्डको संरक्षण नगरपालिकाले गर्ने जनाएका छन् ।
नगरपालिकाले निर्माणाधीन पेविलियन भवनका लागि १५ लाख रुपैयाँ छुट्टाउँदै सम्झौता गरिसकेको अवस्था छ। नगरपालिकाले यस ग्राउन्डको भौतिक संरक्षणमा निर्माणमा निरन्तर सहयोग गर्ने जनाएको छ । भने यो प्रतियोगिताले आर्थिक क्षेत्रलाई पनि चलयमान बनाउन सहयोग पुग्ने जनाएको छ ।










































