बिर्तामोड ।
झापाको बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेशन फाउण्डेशनले ‘बिद्यार्थीहरु अव बिज्ञान पढेर मात्र होइन, गरेर पनि सिक्छन्’ भन्ने मुल नाराका साथ ‘कारखाना’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
दुई बर्ष अघि बिद्यालयले सञ्चालन गरेको कारखाना कार्यक्रम अन्तरगत बिद्यार्थीले तयार गरेका बिज्ञान सामाग्री आज (मंगलबार) स्मार्ट एभरेष्ट स्कुलमा प्रदर्शन गरिएको हो ।
न्यूटन्सका कक्षा ५, ६ र ७ का बिद्यार्थीहरुले तयार गरेका बिज्ञान बस्तु प्रस्तुत गरेका छन् । आज अभिभावकसहित बिद्यार्थीहरुले आफै तयार गरेका बिज्ञान प्रदर्शन गरिएको छ ।
यसअघि कक्षा ४, ५ र ६ मा सञ्चालन गरिएको कारखाना कार्यक्रममा कक्षा–४ का बिद्यार्थीहरुको उमेर कम भएकाले प्रभावकारिता नभएकोले यस बर्ष कक्षा ५, ६ र ७ लाई कार्यक्रममा समावेश गरिएको बिद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाँईले जानकारी दिए ।
उनका अनुसार यस कारखाना कार्यक्रमलाई आगामी दिनमा कक्षा ८ मा पनि पनि जोडिनेछ ।
बिद्यार्थीले आफै बसेको ब्रेन्चमा तयार गरेका बिज्ञानसँग सम्बन्धीत बस्तुहरुलाई अभिभावकको उपस्थितिमा प्रदर्शन गरिएको प्रिन्सिपल हुमागाँईले बताए । पढेको कुरा गरेर सिकौं ज्ञान र सीपलाई व्यहारसँग जोडेर जाऔं भन्ने उदेश्यले बिद्यालयले कारखाना कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
कतिपय अभिभावकलाई बिद्यालयले अनावश्यक रुपमा पैसा लिएको भन्ने हुन सक्छ, प्रिन्सिपल हुमागाँईले भने ‘तर यो कार्यक्रम आधा बिद्यालय र आधा अभिभावकसँग लिने गरिएको छ ।’ उनले यसलाई नकारात्मक तरिकाले नबुझिदिनसमेत आग्रह गरेका छन् ।
कारखाना कार्यक्रम बिद्यार्थीका लागि अति आवश्यक भएकाले बिद्यालयले यसलाई सञ्चालन गरेकोले सकारात्मक रुपमा लिइदिन उनले अभिभावकलाई आग्रह गरेका छन् । झापामा बिद्यार्थीका लागि कारखाना कार्यक्रम सञ्चालन गर्ने पहिलो बिद्यालय न्यूटन्स एजुकेशन बिद्यालय रहेको बताइएको छ ।










































