बिर्तामोड

तेस्रो संस्करणको हरिकुमार प्रसाईं स्मृति जिल्लास्तरीय अन्तरविद्यालय यु–१३ नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इस्ट होराइजन मावि धुलाबारी विजयी भएको छ । 

आज बिहिबार भएको खेलमा इस्ट होराइजनले आयोजक एभरेस्ट स्मार्ट एकाडेमीलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ४३ औँ मिनेट इस्ट होराइजनले अन गोलमार्फत लिएको अग्रता नै जितका लागि काफी भयो । खेलको प्लेयर अफ द म्याच इस्ट होराइजनका निक्रिस घिसिङ भए ।

एभरेस्ट स्मार्ट एकाडेमी र एभरेस्ट स्पोर्ट्स एकाडेमीको आयोजनामा विद्यालयका संस्थापक हरिकुमार प्रसाईंको स्मृतिमा हरेक वर्ष उक्त प्रतियोगिता हुँदै आएको न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देबेन्द्र हुमागांईले जानकारी दिए । 

WhatsApp Image 2026-02-05 at 19.51.05 (1)

कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महताराले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । विद्यालयका प्रबन्ध निर्देशक आशिष प्रसाईंको अध्यक्षतामा भएको समारोहमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्याब्यसन झापाका बरिष्ठ उपाध्यक्ष हरिकुमार पाठक, राम सिटौला, सूर्य कन्दङ्वा, झापा गोल्डकपका बरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल लगायतले शुभकामना व्यक्त राखेका थिए ।

प्रबन्ध निर्देशक प्रसाईंले आफ्ना स्वर्गीय पिताको शिक्षाप्रतिको सोच र योगदानको चर्चा गर्दै विद्यालयले गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सावित्रा भट्टराईले गरेकी थिइन् ।

WhatsApp Image 2026-02-05 at 19.51.05

प्रतियोगितामा सुनभागा स्कुल, टावर टेम्पल, गोमेन्द्र, बाल बाटिका, चिल्ड्रेन इन्भारोमेन्ट, मेची मोडल, निधि, ग्रिन फिल्ड, ब्रिलियन्ट पिपुल्स, देवकुल, होलीबेल, बेल्स मोडल, कञ्चनजंघा, कञ्चन, सूर्योदय, हरिकुल, वाल्मीकि प्रोभिडेन्स र न्युट्न्स एजुकेसन एकाडेमीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २८ गते हुने एभरेस्टका प्रिन्सिपल अनुप शर्माले जानकारी दिए । 

यसैबीच, विद्यालय र एभरेस्ट बाल क्लबले दुईजना क्यान्सर पीडित बालकलाई सहयोग गरेका छन् । बाह्रदशी निवासी ३ वर्षीय नुतन राजवंशी र भद्रपुर निवासी ६ वर्षीय आरोन धमालालाई जनही ३५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको प्रिन्सिपल शर्माले जानकारी दिए । उद्धघाटन खेलमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अभिभावक लगायतको आतिथ्य रहेको थियो ।