बिर्तामोड । सातौं संस्करणको झापा गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ । भोली शनिबारदेखि बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा  हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले आज रंगशालाामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको हो ।

प्रतियोगितामा १० वटा टिमले खेल्ने छन् । झापा गोल्डकपका अध्यक्ष केदार गिरीका अनुसार १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट निर्माण गरिनुका साथै अतिरिक्त २ हजार कुर्सीको व्यवस्थापन गरिएको छ ।  मैदान, मञ्च तथा प्यारापिट , प्रबेशद्धारा सहित  अन्य आवश्यक तयारी सकिएको उनले जानकारी दिए । सातौं संस्करण स्वगीय बिनोद बस्नेतको स्मृतिमा गर्न लागिएको हो । 

प्रतियोगितामा आयोजक झापा ११, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब, सिक्किमको सिङलिङ स्पोर्टिङ क्लब, आरटिसी भुटान, चर्च व्वाइज युनाइटेड, लालिगुराँस एशोसिएसन पोखरा, एन पेनाङ फुटबल क्लब मलेशिया र मच्छिन्द्र फुटबल क्लबको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैया पुरस्कार पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद २५ हजार तथा फाइनलका उत्कृष्ट गोलरक्षक, प्रशिक्षक र स्ट्राइकरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । फाइनलकै दिन प्रतियोगिताको एकजना उत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ५० लाखको बजेट अनुमान गरिएको महासचिब बुद्व तामाङले जानकारी दिए ।

प्रतियोगितामा १०० र २०० को टिकटदर कायम गरिएको छ ।  प्रतियोगितामा टिकट काटेर फुटबल हेर्ने दर्शकलाई हरेक दिन ३२ इन्चको हिमस्टार कम्पनिको टिभी उपहार प्रदान गरिने छ । फाइनलको दिन लक्की ड्र गरेर एकजना भाग्यशाली दर्शकलाई यामाहा कम्पनीको १२५ सिसिको स्कुटर प्रदान गर्ने आयोजकले जनाएको छ । शनिबार भोलीको उद्घाटन खेल झापा ११ र नेपाल पुलिस क्लब बीच हुने छ ।