झापा
भारत आसामको रायनोल्याण्ड क्रिकेट क्लव झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ए अन्तर्गत आज भएको पहिलो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लवलाई ५ विकेटले पराजित गर्दै लगातार तीन जीतका साथ आसाम सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिलो व्याटिङ रोजेको भद्रपुरले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १३७ रन बनायाृे । जवाफमा आसामले ५ विकेट क्षतिमा एक बल बाँकी रहँदा १३८ रनको लक्ष्य पूरा गरेको थियो । आसामका लागि अन्तिम बलमा एक रन आवश्यक थियो । भद्रपुरका बलर दीपक बोहोराको अन्तिम बल वाइड भएपछि आसामको जीत सुनिश्चित भएको थियो ।

ब्याटिङतर्फ भद्रपुरका कप्तान अंकित सुवेदीले ४६ बलमा ५० रन बनाए भने आसामका तर्फबाट कप्तान निविर डेकाले विष्फोटक पारी खेल्दै ४६ बलमा ७२ रनको योगदान दिए ।
बलिङतर्फ आसामका लागि प्राञ्जल भारालीले ४ ओभरमा २७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए भने भद्रपुरका तर्फबाट भुवन काबर्कीले ११ रन खर्चिएर २ विकेट लिए ।
खेलको म्यान अफ द म्याज ७२ रन बनाएका विजेता टिमका कप्तान निविर डेका भए । उनले ११ हजार नगद पुरस्कार प्राप्त गरे । उनलाई पुरस्कार सौजन्यदाता प्रभा ढकालले पुरस्कार प्रदान गरिन् ।
यसैगरी, आजै समूह ए अन्तर्गत नै भारतको नयाँ दिल्ली र नेपालको काठमाडौँबीच प्रतिस्पर्धा भएको छ । खेलमा काठमाडौँले नयाँ दिल्लीलाई ७ विकेटले हराएको छ । यो जीतसँगै काठमाडौँले सेमिफाइनलको संभावनालाई जीवितै राखेको छ भने दिल्लीलाई भोलि हुने भद्रपुरसँगको खेल जित्नैपर्ने दवाब बनेको छ ।
पहिलो ब्याटिङ गर्दै १८.१ ओभरमा अलआउट हुँदै दिल्लीले दिएको ९६ रनको सामान्य लक्ष्य काठमाडौँले ३ विकेटको क्षतिमा ११.४ ओभरमा पूरा गर्यो ।
काठमाडौँलाई जीत दिलाउन कप्तान इशान पाण्डेले २४ बलमा ४० रनको योगदान दिए भने दिल्लीलाई सस्तैमा समेट्न बलिङतर्फ रुपेश श्रीवास्तव र कमल साहीले ४ ओभर खर्चिएर समान ३ विकेट लिए ।
दिल्लीका तर्फबाट व्याटिङमा मयंक मल्लिकले ३७ रनको योगदान दिए भने सबाकरिमले २ विकेट लिए । बलिङमा पनि २ विकेट लिएका काठमाडौँका कप्ता पाण्डे खेलको म्यान अफ दि म्याच भए । उनले ११ हजार नगद पुरस्कार प्राप्त गरे ।










































