बिर्तामोड । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकैदिन पाँच जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका ६ पचासबिघेबाट बिर्तामोड ८ गरामनीका २१ वर्षीय वसन्त न्यौपाने र बिर्तामोड ६ स्यालडाँगीका २५ वर्षीय राहुल लुइँटेल लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले मंगलबार दिनको ४ बजेको समयमा उनीहरूमाथि शङ्का लागेर चेकजाँच गर्दा प्लास्टिक बाहेक ८४० मिलिग्राम खैरो हिरोइन फेला परेको थियो । त्यस्तै सोही घटनामा संलग्न अर्जुनधारा ८ का २४ वर्षीय सुजन गिरी र अर्जुनधारा ५ का २७ वर्षीय डिल्लु खड्कालाई समेत अनुसन्धानको लागि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाइएको छ ।

यसैगरी, मंगलबार दिनको २ः४० बजेको समयमा मेचीनगर ६ बाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले मेची खोलाको बाटो पैदल नेपालतर्फ आउँदै गरेका मेचीनगर १२ कालीझोडाका २४ वर्षीय रञ्जन सुब्बा पनि पक्राउ परेका छन् । उनलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकबाहेक ६६० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।