१५ हजार घुससम्बन्धि मुद्दामा सशस्त्र प्रहरीका जवान दोषी ठहर भएका छन् भने इन्सपेक्टरले सफाइ पाएका छन् । सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित बोर्डर आउटपोस्ट मझगाँवका जवान यामबहादुर खत्रीलाई बिशेष अदालतले दोषी ठहर गरेको हो। उनीसँगै मुद्दा दायर गरिएका  सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालले सफाइ पाएका छन्। 

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामान तस्करीमा सघाउने भन्दै घुस लिएको अवस्थामा जवान खत्रीलाई पक्राउ गरेको थियो। बयानको क्रममा उनले इन्सपेक्टरको निर्देशनमा घुस लिएको बताएका थिए। सोही आधारमा इन्सपेक्टरलाई पनि आयोगले मुद्दा चलाएको थियो। बयानमा बताएपनि स्वतन्त्र प्रमाणले पुष्टि हुन नसकेके भन्दै उनलाई सफाइ दिने फैसला बिशेष अदालतले गरेको छ । 

 जवान खत्रीलाई भने एक महिना कैद र १५ हजार जरिवाना सजाय भएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले आंशिक ठहरको फैसला गरेको हो।