झापा । बिहीबार साँझ आएको वर्षासहितको हावाहुरीबाट झापामा तीन जनाको मृत्यु भएको छ । वर्षासहित आएको हावाहुरीले रुख ढल्दा किचेर हल्दीबारीमा एक युवतीको मृत्यु भएको थियो । हल्दीबारी २ पाराखोपी बस्ने १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो ।

आफ्‌नै घरमा सुतिरहेको अवस्थामा घरनजिक रहेको आँपको रूख ढलेर किच्दा उनकौ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, हल्दिबारीमा जमेको पानीमा डुबेर गएराति हल्दिबारी २ बस्ने ३७ वर्षीय सुनिलराम सोरेनको घरदेखि करिब ५ सय मिटर पूर्व खेतमा मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी राजमिस्त्री काम गरेर घर फर्किने क्रममा उनी पानी जमेको खेतमा लडेका थिए । त्यस्तै, गएराति १०ः३० बजे अर्जुनधारा ४ रातेखालस्थित सयपत्री क्रसर छेउमा रहेको पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण कटुवाल पैनीको पानीमा घोप्टो परि मृत अवस्थामा फेला परेका हुन् । उनी छारे रोगको बिरामी भएको बुझिएको छ ।