राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबिच समानुपातिक सांसद चयन र नयाँ सरकार गठनबारे छलफल भएको छ।
हात्तीगौंडास्थित लामिछानेको निवासमा उनीहरुबिच शुक्रबार छलफल भएको रास्वपा नेताहरूले बताएका छन्। लामिछाने अस्वस्थ रहेकाले घरमै उनी शीर्ष नेताहरुसँग छलफल गरिरहेको उनका स्वकिय सचिव अविनाश आचार्य बताए। उच्च ज्वरोका कारण लामिछाने घरमै आराम गरिरहेका छन्।
गत साता सम्पन्न निर्वाचनमा रास्वपाले २७५ मध्ये १८२ सिट जितेको छ। निर्वाचन आयोगले आगामी साता निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्दैछ।
निर्वाचन आयोगले बिहीबार ३ दिनभित्र समानुपातिक सांसदको सूची बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ। रास्वपाले ११० मध्ये ५७ समानुपातिक सांसद जितेको छ। जसअनुसार क्लस्टर मिलाएर दलहरुले समानुपातिक सांसदको सूची बुझाएपछि अयोगले उनीहरुलाई प्रमाणपत्र दिनेछ। त्यसपछि आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउनेछ । रास्वपाबाट बालेन प्रधानमन्त्री हुँदैछन्। मन्त्रीहरु चयनका लागि पनि रास्वपामा छलफल सुरु भएको छ।









































