फुङलिङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर मुक्कुमलुङमा एक महिनामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । फागुन महिनामा उक्त रकमबराबरको भेटी सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार फागुन महिनामा भक्तजनहरूले ३१ लाख १० हजार रुपैयाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहाछाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । शनिबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार फागुन महिनामा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर आएका थिए ।









































