झापा, ५ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ चिया बगान क्षेत्रमा प्रहरीले भन्सार छलेर ल्याइएको सामानसहित दुई टेम्पो र चालकलाई नियन्त्रणमा लिएको छ।

आज बिहान इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका टेम्पोहरुलाई शंका लागेर चेकजाँच गर्दा पर्दा, साडी, कुर्था सुरुवाल, ढाका लगायतका विभिन्न किसिमका कपडा बरामद गरिएको थियो । बरामद गरिएको सामानको मूल्य करिब पाँच लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाको अनुमान छ । पर्दा २ लाख ८० हजार, अटो २ लाख, कपडा सहितका सामान ५ लाख १७ हजार र अटो २ लाख गरि झण्डै १२ लाख बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले मे १ ह ६३५५ नम्बरको टेम्पो र त्यसका चालक मेचीनगर–७ का ४० वर्षीय सुभिन्द्र जोगी र मे १ ह ७२९४ नम्बरको टेम्पो र चालक भोजपुर हतुवागडी गाउँपालिका–५ घर भई हाल झापा मेचीनगर–७ मा बस्दै आएका ३५ वर्षीय हमदल राईलाई नियन्त्रणमा लिएको छ । प्रहरीले टेम्पो तथा चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भद्रपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।