झापा । इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछकालागि नियन्त्रणमा लिएको बिर्तामोड–४ निवासी १४ वर्षीया बालिका आसिदा खातुनलाई रिहा गरेको छ । गत फागुन २९ गते राति पक्राउ परेकी उनलाई बुधबार राति करिब ८ः३० बजे रिहा गरिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय मानव अधिकार सञ्जाल झापाका महासचिव दिपक दास र सदस्य विकाश कोइरालाको रोहवरमा रिहा गरिएको सञ्जालका अध्यक्ष डा रुपक खनालले जानकारी दिए
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बालिकालाई उनकी फुपु बिर्तामोड–३ निवासी ४० वर्षीया संन्जेरी खातुनको जिम्मा लगाइएको छ।
प्रहरीले फागुन २९ गते राति खातुनको घरबाट ६ लाख ३५ हजार ४ सय ६० रुपैयाँ नगद, २ लाख ४६ हजार भारतीय रुपैयाँ तथा करिब तीन तोला सुन र चार तोला चाँदीका गहना बरामद गरेको जनाएको छ। सोही क्रममा बिर्तामोड–४ मियावारीस्थित जगत बस्नेतको घरमा डेरा गरी बस्ने उनकी आमा २८ वर्षीया मसिना खातुन पक्राउ परेकी थिइन्।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा बालिकाका बुवा फरार छन्। हाल आसिदाकी आमा मसिना खातुन भने प्रहरी हिरासतमा नै रहेकी छन् र उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बालिकाका बुवा यसअघि पनि पक्राउ परेका र राष्ट्रपतिबाट आममाफी पाएर छुटेका व्यक्ति रहेको जनाइएको छ। उनीमाथि चोरीमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








































