पुर्णिया । कोशी प्रदेशको इटहरीमा चैत १४, १५ र १६ गते आयोजना हुन लागेको “स्टर्न ट्राभल्स मार्ट” लाई लक्षित गर्दै नेपाल–भारत पर्यटन प्रवर्द्धन अभियान तीव्र पारिएको छ। नेपाल पर्यटन बोर्डको सहयोग, कोशी प्रदेश सरकार तथा इटहरी उपमहानगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको प्रचार–प्रसार कार्यक्रमअन्तर्गत भारतका विभिन्न सहरहरूमा अन्तरक्रिया कार्यक्रमहरू भइरहेको छ।
यसै क्रममा फारबिसगंज, पूर्णिया र दरभंगापछि राजधानी पट्नामा पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिने ज्नाएको छ । पुर्णियाको श्रीनायक होटलमा आयोजित कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी तथा पत्रकारहरूले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए।
कार्यक्रममा स्टर्न ट्राभल्स मार्टका प्रतिनिधिहरूले नेपालमै उत्पादित रुद्राक्षको माला र ढाका टोपी प्रदान गर्दै भारतीय सहभागीहरूलाई इटहरीमा हुने मार्टमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएका थिए। नेपाली संस्कृतिको झल्को दिने उक्त सम्मानले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
अन्तरक्रियाका क्रममा भारतीय सहभागीहरूले नेपाल भ्रमणका क्रममा भन्सार प्रक्रिया, सडकमा ट्राफिक व्यवस्थापन तथा केही स्थानमा सुरक्षाकर्मीबाट हुने व्यवहारप्रति गुनासो राख्दै यस्ता समस्याहरू समाधान भएमा दुई देशबीचको पर्यटन आवागमन अझ सशक्त बन्ने धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्दै मार्टका संयोजक पुण्यप्रसाद भट्टराईले नेपाल–भारत पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू प्रभावकारी हुने बताए। उनले भारतीय पर्यटकहरूलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन गराउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मार्ट आयोजना गरिएको स्पष्ट पारे।
त्यस्तै नेपाल पर्यटन बोर्डकी मार्केटिङ प्रमुख रोहिणी खनालले भारतका विभिन्न सहरमा पुगेर प्रत्यक्ष अन्तरक्रिया गर्दै मार्टमा सहभागिताका लागि निमन्त्रणा दिनुका साथै पर्यटन सहकार्य विस्तार गर्ने लक्ष्य रहेको बताइन्।

इटहरीबाट भारत जाने क्रममा जोगवनीमा टोलीलाई जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजबहादुर पुरी र उपाध्यक्ष केशव गिरीले खादा लगाई बिदाइ गरेका थिए।
कार्यक्रममा नेशनल जर्नालिस्ट एसोसिएसन महिला बिहारकी अध्यक्ष पूजा मिश्र, होटल एसोसिएसन पट्नाका अध्यक्ष पंकज नायक, मार्टका सचिव उमेश दाहाल,सचिवालय सदस्य रेवती रमण दाहल,बिजय प्रसाईं ,सरोज पौडेल , सदस्य दीपक पोखरेल, खिलकुमार सुवेदी,लगायत पत्रकार तथा पर्यटन व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।








































