बिर्तामोड – झापाको बिर्तामोड–१ स्थित किड्स ग्यालेक्सी मन्टेश्वरी स्कुलले आफ्नो १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार एक भव्य कार्यक्रमका बीच मनाएको छ।

२०७२ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल पीजी, नर्सरी, एलकेजी र युकेजी तहमा गरी ६५ जना विद्यार्थी अध्ययनरत रहेका छन्।

विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको प्रिन्सिपल कृष्णा खनाल भट्टराईले जानकारी दिइन्।

20260321_115649

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाको शिक्षा शाखा अधिकृत जानुका अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई युकेजीमा अध्ययनरत विद्यार्थी प्रणव लिम्बुले स्वागत गरेका थिए।

कार्यक्रममा प्याप्सन बिर्तामोड नगर कमिटीका अध्यक्ष सुरेन्द्र खरेल, व्यवसायी युवराज निरौला तथा मेची क्याम्पसका प्राध्यापक सुनिल शर्माले मन्तव्य व्यक्त गर्दै विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

त्यसैगरी कार्यक्रममा सञ्चारकर्मी तथा लिङ्कन मन्टेश्वरीका प्रिन्सिपल सरोज पौडेल लगायत विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाहरूको बाक्लो उपस्थिति रहेको थियो। विद्यालयमा हाल ९ जना शिक्षक–शिक्षिका कार्यरत रहेका छन्।

कार्यक्रममा प्रिन्सिपल भट्टराईले विद्यालयले वार्षिक क्यालेण्डर अनुसार विभिन्न चाडपर्व तथा अतिरिक्त क्रियाकलापहरू मनाउँदै आएको उल्लेख गर्दै यसले विद्यार्थीहरूलाई संस्कृतिसँग जोड्नुका साथै व्यवहारिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरिन्।

कार्यक्रमको सञ्चालन मिलनकुमार भट्टराईले गरेका थिए।