बिर्तामोड, चैत ८ । झापाको दमकमा रहेको एक कुखुरा फार्ममा रहेका कुखुरामा बर्ड फ्लु पुष्टि भएसँगै झापा गाउँपालिकामा पनि आशंका गरिएको छ ।
यसअघि दुई दिनअघि मात्र दमकको सीमावर्ती सहर उर्लाबारीमा बर्ड फ्लु पुष्टि भएको थियो । दमकमा आज बर्ड फ्लु पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख प्रमुख शितल भट्टराईका अनुसार झापा–७ मा बर्ड फ्लु देखापरेको हुनसक्ने जानकारी दिइन् । झापा गाउँपालिका ७ को सुदीक्षा कृषि फार्मका कुखुरामा बर्डफ्लु आशंका गरिएको छ ।
सोही विषयमा जाँचबुझ गर्न कोशी प्रदेश सरकारको रेपिड रेस्पोन्स टिम आएको छ । सो टिमले अध्ययन गरिसकेपछि विस्तृत विवरण आउने उनले जानकारी दिइन् ।
भट्टराईले दमकको कुखुरा परीक्षण गर्दा हाइली प्याथोजेनिक र झापामा लो प्याथोजेनिक देखापरेको बताइन् । झापा(७ का दुर्गाप्रसाद भट्टराईले पालेको कुखुरामा देखिएको लो प्याथोजेनिक बर्डफ्लु उपचारबाट निको हुनसक्ने तर दमकका कुखुरा नष्ट गर्नुपर्ने बताइएको छ ।









































