रोटरी क्लब अफ सुरुङ्गा झापाले स्वर्गीय हेमकला तथा टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार लिलाराज झापालीलाई नगद सहित पुरस्कृत गरेको छ।

 आज बिहिबार विश्व वातावरण दिवसको पूर्वसन्ध्या पारेर झापा गाउँपालिका ७ स्थित रानीवन सामुदायिक वनको हाताभित्र एक कार्यक्रमका बीच क्लबले पत्रकार झापालीलाई नगद १५ हजार सहित दोसल्लाह तथा सम्मानपत्रद्वारा सम्मान गरेको हो।

20260604_152745

रोटरी क्लब अफ सुरुङ्गा झापाका सचिव तथा  पत्रकार रामप्रसाद निरौला र श्रीमति शान्ता निरौलाले आफ्ना जन्मदाता एवं कर्मदाता बुबाआमा टिकाराम र हेमकला निरौलाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार झापाली पुरस्कृत भएका हुन् । 

 निरौलाले बुबाआमा को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट गोरखापत्र दैनिकका समाचारदाता तथा कन्काई साप्ताहिक तथा अनलाइनका सम्पादक समेत रहेका झापालीलाई सम्मान गरिएकाे हाे ।  

 पुरस्कृत पत्रकार झापाली प्रेस क्लब सुरुङ्गाका अध्यक्ष समेत हुन् । 

Screenshot_20260604_192150_Gallery

कार्यक्रमको प्रमुख अतिथि झापा गाउँपालिकाको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया,  रोटरी क्लब अफ सुरुङ्गाको अध्यक्ष  डिल्ली मैनाली,  क्लबका सचिव तथा पुरस्कार स्थापना गर्ने दाता रामप्रसाद निरौला,  संस्थापक अध्यक्ष एलपी उप्रेती लगायतले उनलाई सम्मान गरेका हुन् । 

यो पुरस्कारबाट यसअघि  माेहनकाजी न्यौपाने , तीर्थराज खरेल,  रेजिना गौतम,  दिपिन राई सम्मानित भइसकेका छन् । 

कार्यक्रममा  दाताका तर्फबाट रामप्रसाद  निरौलाले पत्रकारिता पुस्कारको औचित्यमाथी प्रकाश पारेका थिए । 

उनले बुवाआमाको स्मृतिलाई सदैव जीवन्त राख्नका लागि आफ्नो परिवारले पत्रकारिता क्षेत्रबाट समाज रूपान्तरणमा योगदान पुर्याउने पत्रकारहरुलाई प्रत्येक वर्ष पुरस्कृत गर्दै आएकाे बताए । 

झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले २०७९ सालमा  रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कारको स्थापना गरेका थिए ।  

प्रमुख अतिथि थपलियाले बिरुवा रोपेर उद्घाटन गरेको कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक तथा रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष हेम परसाईले सम्मानित व्यक्तित्व पत्रकार झापालीको सम्मानपत्र वाचन गरेका थिए। 

 पूर्व अध्यक्ष एलपी उप्रेतीले स्वागत गरेकाे  कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद निरौलाले गरेका थिए। 

कार्यक्रममा प्रमुख अतिथि थपलिया,  शिक्षक महासङ्घ झापाका जगन्नाथ राजवंशी , रानी सामुदायिक वनका अध्यक्ष मदन भण्डारी , झापा गाउँपालिका ७ का वडाध्यक्ष सखीचन्द्र ठाकुर लगायतले शुभकामना मन्तव्य राखेका थिए। 

साथै रोटरी क्लब अफ सुरुङ्गा झापाले भोलि शुक्रबार  पर्न गएको विश्व वातावरण दिवसको अवसर पारेर रानी सामुदायिक वनलाई ५० वटा टिक प्रजातिका बिरुवा समेत हस्तान्तरण गरेको सचिव रामप्रसाद निरौलाले जानकारी दिए ।