इलाम स्थित पशुपती नगर भन्सारले नियम बिपरित अबैध तबरले सुविधाका नाममा रकम लिइरहेको चालकहरुले गुनासो गरेका छन् । भन्सार नियमावली, २०६४ को नियम १० अनुसार, भारतीय नम्बरप्लेट भएका सवारी साधनलाई सीमा क्षेत्रबाट करिब ५ किलोमिटर टाढाको बजारसम्म जान निःशुल्क भन्सार ‘सुविधा’ दिने प्रावधान छ ।
यसमा कुनै शुल्क तिर्नुपर्दैन । तर, पशुपतीनगर भन्सार कार्यालयले यो नियमको उल्लंघन गर्दै अवैध रूपमा रकम असुल गरिरहेको पाइएको हो ।
सीमा क्षेत्रबाट करिब ५ किलोमिटरसम्मको बजार आउजाउ गर्न भारतीय सवारीलाई कुनै शुल्क नलिने भन्सारको प्रावधानविपरीत पहाडी जिल्ला इलाम स्थित पशुपतीनगर भन्सारले भारतीय नम्बर प्लेटका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनबाट सुविधाको नाममा अवैध रकम असुल गरिरहेका हुन् ।
बिहान ७ बजेदेखि साँझ ७, ८ बजेसम्म नै सुविधा उपलब्ध हुन्छ । सुविधा काटेर प्रवेश गरेका सवारीले त्यसै दिन भारत फर्किनु पर्ने प्रावधान छ ।
भारतको मिरिक, दार्जिलिङ , सिलिगुडी लगायतका बजारबाट घुम्न दैनिक हजारौं भारतीय सहितका पर्यटक पशुपपतिनगर नाका आउँछन्। दैनिक सयौंको सङ्ख्यामा भारतीय सवारी यहाँ आउजाउ गर्छन् । स्रोतका अनुसार भन्सारले कर्मचारी नै खटाएरै अवैध असुली गरिरहेको छ ।
स्रोतका अनुसार दैनिक ३ सयभन्दा बढी चार पाङ्ग्रे त्यसबापत दैनिक न्यूनतम ३० हजार हाराहारी रकम संकलन हुन्छ । भन्सार कार्यालयले सुविधा काट्न दुई कर्मचारी परिचालन गरेको छ । चार पाङ्ग्रे लाई भारु ३० रुपैंया लिने गरेको चालकहरुको गुनासो छ ।
सुविधाका नाममा असुलिएको उक्त रकम राजश्वमा पनि जम्मा हुँदैन । त्यो रकम सुविधा शाखामा खट्ने कर्मचारीदेखि भन्सार प्रमुखसम्मको खल्तीमा जाने गरेको बताइएको छ ।
कार्यालयमा हाल नवकुल शर्मा प्रमुख भन्सार अधिकृत छन् । त्यस्तै सुचना अधिकारीको नाममा राम लामिछाने कार्यरत छन् । त्यति मात्र होइन । सवारी चालक रणबहादुर खत्रीले सुविधाको पेपरमा हस्ताक्षर गर्छन । कानुनको ध्वजी उडाउँदै उनले क्षेत्राधिकार भन्दा बाहिर गएर हाकिमको निर्देशनमा हस्ताक्षर त गर्दै रकम असुली व्यापक बनाएका हुन् ।










































