झापाको बिर्तामोड स्थित वान स्टप मलमा अन्तर्राष्ट्रिय अनुभव बोकेर स्वदेश फर्किएका उप्रेती दम्पतिले नयाँ व्यवसायिक पहल स्वरूप ‘कङ्गारु मोबाइल जोन’ सञ्चालनमा ल्याउने भएका छन् ।
मेचीनगर–९ धुलाबारी निवासी अरुण उप्रेती र स्मृति ढकाल उप्रेतीले आगामी असार ३ गतेदेखि बिर्तामोडस्थित सो स्थानमा ‘कङ्गारु मोबाइल जोन’ सञ्चालनमा ल्याउन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
अष्ट्रेलियामा सफल रूपमा सञ्चालन हुँदै आएको ‘कङ्गारु मोबाइल जोन’को अवधारणालाई नेपालमा विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय, भरपर्दो र ग्राहकमैत्री सेवा उपलब्ध गराउने उद्देश्यका साथ व्यवसाय सुरु गर्न लागिएको सञ्चालक अरुण उप्रेतीले बताउनुभयो ।
उनका अनुसार बिर्तामोडलाई केन्द्र बनाएर झापा, इलाम, पाँचथर, ताप्लेजुङ तथा पूर्वी क्षेत्रका ग्राहकलाई सेवा प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै सञ्चालक स्मृति ढकाल उप्रेतीले अष्ट्रेलियाका विभिन्न स्थानमा ‘कङ्गारु मोबाइल जोन’का १६ वटा स्टल सञ्चालनमा रहेको जानकारी दिँदै त्यहाँबाट प्राप्त अनुभव, व्यवसायिक मूल्य र ग्राहकप्रतिको उत्तरदायित्वलाई नेपालमा पनि स्थापित गर्ने प्रयास गरिएको बताउनुभयो ।
उहाँले प्रविधिको तीव्र विकाससँगै मोबाइल तथा इन्टरनेट दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको उल्लेख गर्दै गुणस्तरीय सेवा र विश्वसनीय प्राविधिक सहयोगको आवश्यकता महसुस गरेर अन्तर्राष्ट्रिय अनुभवलाई स्वदेशमै उपयोग गर्ने लक्ष्यसहित यो व्यवसाय सुरु गरिएको स्पष्ट पार्नुभयो ।
‘कङ्गारु मोबाइल जोन’मा नयाँ तथा ब्रान्डेड मोबाइल फोन, ग्यारेन्टीसहितका प्रयोग गरिएका मोबाइल, ब्रान्डेड मोबाइल एक्सेसरिज, मोबाइल मर्मत सेवा तथा प्राविधिक तालिम उपलब्ध गराइने जनाइएको छ।
साथै सरल, सुलभ र ग्राहकमैत्री मूल्य नीतिका साथ सेवा प्रदान गरिने सञ्चालकद्वयको भनाइ छ ।
मोबाइल बजारमा बढ्दो प्रतिस्पर्धा र दक्ष प्राविधिक जनशक्तिको अभावबीच विदेशमा आर्जित सीप, अनुभव र पूँजीलाई स्वदेशमै लगानी गर्ने उप्रेती दम्पतिको पहललाई सकारात्मक रूपमा हेरिएको छ ।
पत्रकार सम्मेलनको सहजीकरण पत्रकार लक्ष्मी उप्रेतीले गर्नुभएको थियो ।










































