झापा, ३ असार । झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।
आज बिहान करिब ९ः५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटी चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए ।
टाउको तथा दाहिने हातमा चोट लागेका कार्कीको नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
स्कुटीमा पछाडि सवार गौरीगञ्ज गाउँपालिका–१ निवासी ६४ वर्षीय शेरबहादुर कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिपर र चालक फरार भएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा दिउँसो करिब १२ः३० बजे उक्त टिपर र चालक गौरादह नगरपालिका–९ बैगुनधुरा निवासी २९ वर्षीय दीपक प्रधानलाई फेला पारी नियन्त्रणमा लिएको छ । हाल चालकलाई इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









































