झापा, ५ असार । सवारी चालक अनुमतिपत्र लाइसेन्स लिन तथा नवीकरणका लागि आवश्यक स्वास्थ्य परीक्षण नगरी २०० लिएर निरोगिताको प्रमाणपत्र वितरण भइरहेको खुलासा भएपछि नेपालगन्जमा प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यातायात व्यवस्था कार्यालय परिसरमा निगरानीका क्रममा अनियमितता फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखिएको उहाँले बताउनुभयो । २०० लिएर निरोगिताको प्रमाणपत्र वितरण भएको सूचना पाएपछि जिल्लाबाट प्रहरी टोली परिचालन गरी निगरानी र अवलोकन गर्ने क्रममा कैफियत भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।








































