विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआईजी० विनोद घिमिरेले झापास्थित इलाका प्रहरी कार्यालय अनारमनीको निरीक्षण गर्दै प्रहरी संगठनलाई थप व्यावसायिक, जवाफदेही र नागरिकमुखी बनाउन कडा निर्देशन दिएका छन्। सीमावर्ती क्षेत्रमा बढ्दो लागूऔषध कारोबार, अवैध चोरी–निकासी तथा संगठित अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्न उनले प्रहरी कर्मचारीलाई स्पष्ट सन्देश दिएका हुन्।
असार ५ गते सम्पन्न निरीक्षण भ्रमणका क्रममा डीआईजी घिमिरेले कार्यालयका विभिन्न शाखा, अभिलेख व्यवस्थापन, अनुसन्धान प्रक्रिया, सेवा प्रवाह तथा सुरक्षा अवस्थाबारे विस्तृत जानकारी लिएका थिए। निरीक्षणपछि आयोजित अन्तरक्रियामा उनले प्रहरीको पहिलो दायित्व नागरिकको सुरक्षा र विश्वास कायम गर्नु भएको उल्लेख गर्दै सेवाग्राहीको गुनासो तथा समस्यालाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न निर्देशन दिएका छन्।
उनले प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी अनुशासित, निष्पक्ष र इमान्दारितापूर्वक निर्वाह गर्न आग्रह गरे। प्रहरी संगठनप्रति नागरिकको भरोसा बढाउने काम व्यवहार र कार्यशैलीबाट मात्रै सम्भव हुने भन्दै उनले जनतामाझ प्रहरीको छवि सुधार्न प्रत्येक प्रहरी कर्मचारीले संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।
सीमावर्ती अपराध नियन्त्रणमा विशेष जोड
झापा भारतसँग सीमा जोडिएको जिल्ला भएकाले लागूऔषध ओसारपसार, अवैध व्यापार, चोरी–निकासी तथा संगठित अपराधका चुनौतीहरू निरन्तर देखिँदै आएका छन्। पछिल्ला वर्षहरूमा लागूऔषध दुर्व्यसन र कारोबारका घटनाले सुरक्षा निकायलाई थप चुनौती दिएको छ।
यही सन्दर्भमा डीआईजी घिमिरेले सीमावर्ती क्षेत्रलाई अपराधीहरूको सुरक्षित मार्ग बन्न नदिन निर्देशन दिएका छन्। उनले लागूऔषध कारोबारी, तस्कर र आपराधिक समूहविरुद्ध सूचना संकलनलाई प्रभावकारी बनाउन तथा अनुसन्धानलाई नतिजामुखी बनाउन जोड दिएका छन्।
उनले भने, “प्रहरीको सफलता पक्राउको संख्याले मात्र होइन, अपराध रोकथामको क्षमताले पनि मापन हुन्छ। अपराध हुनुअघि नियन्त्रण गर्ने रणनीति अपनाउनुपर्छ।”
‘जनताको प्रहरी’ बन्न निर्देशन
निरीक्षणका क्रममा डीआईजी घिमिरेले सेवाग्राहीमैत्री प्रहरी सेवामा विशेष जोड दिएका छन्। प्रहरी कार्यालयमा आउने नागरिकले सम्मानजनक व्यवहार पाउनुपर्ने, उजुरी दर्तादेखि अनुसन्धान प्रक्रियासम्म पारदर्शिता कायम हुनुपर्ने र पीडितलाई न्याय दिलाउने कार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
प्रहरी संगठनभित्र अनुशासन, इमान्दारिता र उत्तरदायित्व कायम राख्न नसके संगठनको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले आचरणमा विशेष ध्यान दिन समेत उनले निर्देशन दिएका छन्।
संगठनको गरिमा जोगाउने चुनौती
पछिल्लो समय समाजमा अपराधको स्वरूप परिवर्तन हुँदै गएको छ। साइबर अपराध, लागूऔषध कारोबार, आर्थिक अपराध तथा अन्तरदेशीय अपराधका घटनाले प्रहरी संगठनमाथि थप जिम्मेवारी थपिएको छ। यस्तो अवस्थामा प्रविधिमैत्री अनुसन्धान, प्रभावकारी सूचना संकलन र समुदायसँगको सहकार्य अपरिहार्य बन्दै गएको सुरक्षा विज्ञहरू बताउँछन्।
डीआईजी घिमिरेले पनि आधुनिक चुनौतीसँग जुध्न प्रहरी कर्मचारीलाई व्यावसायिक क्षमता अभिवृद्धि गर्न, कानुनी प्रक्रियाको पूर्ण पालना गर्न तथा संगठनको गरिमालाई सदैव उच्च राख्न निर्देशन दिएका छन्।
सुरक्षा रणनीतिमा नयाँ सक्रियता
कोशी प्रदेश प्रहरी नेतृत्व सम्हालेपछि डीआईजी घिमिरेले जिल्लागत निरीक्षण, अपराध नियन्त्रण रणनीति र प्रहरी सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आएका छन्। अनारमनी निरीक्षणलाई पनि प्रदेश प्रहरीको सुरक्षा रणनीतिलाई थप प्रभावकारी बनाउने अभियानको एक महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।
सीमावर्ती क्षेत्रको सुरक्षा, लागूऔषध नियन्त्रण, तस्करीविरुद्धको अभियान र नागरिकमैत्री प्रहरी सेवालाई केन्द्रमा राख्दै दिइएको उनको निर्देशनले आगामी दिनमा झापासहित कोशी प्रदेशको सुरक्षा व्यवस्थापनमा थप सक्रियता देखिने अपेक्षा गरिएको छ।








































