काठमाडौँ — पहिलो हाफको तीन गोलको मदतले ब्राजिलले विश्वकप २०२६ मा शनिबार हाइटीलाई ३–० ले हराएको छ र समूह सी को शीर्ष स्थानमा उक्लेको छ । ब्राजिलको दुई खेलबाट चार अंक भएको छ र अन्तिम ३२ मा प्रवेशको सम्भावना बलियो भएको छ ।
मोरक्को पनि समान चार अंकमा रहेको छ । ब्राजिलले गोल अन्तरले अगाडि रहेको हो । ब्राजिल र मोरक्कोबीचको यसअघिको खेल बराबरीमा टुंगेको थियो । स्कटल्यान्ड तीन अंकमा तेस्रो स्थानमा छ । लगातार दोस्रो हारले हाइटीको नकआउट प्रवेशका सम्भावना कमजोर भएको छ ।
यसै समूहको शनिबार भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई हराएको थियो । यता फिलिडेल्डिया स्टेडियम भएको खेलमा ब्राजिलका लागि म्याथेस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका छन् । कुन्हाले २३ र ३६ औं मिनेटमा गोल गरेपछि जुनियरले इन्ज्युरी समयमा तेस्रो गोल थपे ।
ब्राजिलका थप दुई प्रहारले पोस्टका दिशा लिए पनि ती अफसाइड रहे । ब्राजिलका लागि आफ्ना स्टार खेलाडी राफिन्हाको चोट चिन्ताको विषय हुन सक्नेछ । खेलका क्रममा घाइते भएपछि उनको स्थानमा रायनले मैदानमा प्रवेश गरेका थिए ।








































