झापाको अर्जुनधारा नगरपालिकाले ४ र ५ नम्बर जोड्ने बिरिङ खोलाको कज्वेलाई बाढिले क्षति गरेसंगै आसपासका बस्ती जोखिममा परेपछि नगरले कटान रोक्न अग्रसरता लिएको छ  । अर्जुनधारा नगरपालिका–४ रातेखाल र अर्जुनधारा–५ पानीकल जोड्ने कज्वे बाढीले भत्काएर बिरिङ खोलाले  कटान शुरु गर्दा  नजिकै रहेको बस्ती जोखिममा परेपछि नगरपालिकाको अगुवाई त्यसको  व्यवस्थापन अघि वढाइएको हो । 

लगातारको वर्षापछि बिरिङ खोलामा आएको बहावका कारण नदी किनारमा कटान सुरु भएपछि आसपासका बस्ती जोखिममा परेका छन्। कटान तीव्र बन्दै गएपछि बस्ती जोगाउन नगरप्रहरी, सुरक्षाकर्मी र स्थानीयवासी संयुक्त रूपमा श्रमदानमा जुटेका छन्। 

WhatsApp Image 2026-07-15 at 20.07.38 (1)

श्रमदानमा अरिदमन गण चारआलीका सेनानी इरज खड्काको नेतृत्वमा ३५ जना सेना, भीष्म सापकोटाको नेतृत्वमा सशस्त्र प्रहरी बल बेश क्याम शनिश्चरे र खुदुनाबारीबाट २१ जनाको टोली, नगर प्रहरी, स्थानीय र आरआइटी टिमले सामुहिक श्रमदान गरेका हुन् ।  

उनीहरूले ढुंगा बोक्ने, बालुवाका बोरा भर्ने, तटबन्ध निर्माण गर्ने तथा नदीको बहाव नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। सीमित स्रोत–साधनका बीच गरिएको यस अभियानले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको नगर प्रमुख बलदेबसिंह गोम्देनले जानकारी दिए । 

स्थानीयले दीर्घकालीन रूपमा नदी नियन्त्रण तथा बलियो तटबन्ध निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूका अनुसार समयमै प्रभावकारी पहल नभए बस्ती, खेतीयोग्य जमिन तथा भौतिक संरचनामा ठूलो क्षति पुग्न सक्ने जोखिम रहेको छ।

उक्त स्थानमा बिरिङ खोलाले कटान शुरु गरेसँगै स्थानीय त्रसित भएका थिए । सो क्षेत्रमा कटान भए करिव ५ सय घरपरिवार साथै ५ सय वढी बिगाहा जग्गा जोखिममा पर्ने अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बताए ।

सो स्थानमा बिरिङ खोलाको बाढीले बहाव परिवर्तन गरेर कटान शुरु गरेको थियो । नगरपालिकाको अगुवाईमा स्काभेटरको सहायताले खोलालाई बिच भागमा फर्काएर तटबन्धन गरिने नगर प्रमुख गोम्देनले जानकारी दिए । नगर प्रमुख गोम्देनका अनुसार नगरपालिकाले ५० वटा र जनताको तटबन्धनबाट ५० वटा तारजाली गरेर एक सय तारजालीले तटबन्धन गरिने अभियान दुई दिन अर्थात आज र भोलि सरोकारवालाहरुको श्रमदानबाट गरिने नगर प्रमुख गोम्देनले जानकारी दिए । 

श्रमदानमा नगर प्रमुख गोम्देन, नगर उप–प्रमुख खड्गमाया पराजुली, आरआइटी टिम, सुरक्षाकर्मीहरू र स्थानीयहरुको सहभागीता रहेको टेकनाथ अधिकारी महेन्द्रले जानकारी दिए ।