काठमाडौं । सीमा नाकाबाट तस्करी रोक्न नसकेको आरोपमा झापा र सुनसनरीमा कार्यरत सशस्त्र प्रहरी बलका एसपी तानिएका छन् ।

गृह मन्त्रालयको निर्देशनपछि झापाका अम्बिका प्रसाद जोशी र सुनसरीका श्यामकुमार कार्कीलाई मुख्यालय झिकाएर सशस्त्र प्रहरीले छानबिन थालेको हो। 

गत साता गृहमन्त्री सुधन गुरुङ ती जिल्लामा अनुगमनमा पुगेका थिए। जस क्रममा ती जिल्लाका सशस्त्रको गतिविधि राम्रो नभएको भन्दै छानबिन गर्न लगाएका थिए।

ती जिल्लाका डीएसपी लगायत केही अधिकृतहरू यसअघि नै छानबिनमा छन् । जिल्लाकै इन्चार्जहरू पनि छानबिनमा परेका हुन् ।

प्रारम्भिक छानबिनमा उनीहरूको समेत शंकास्पद भूमिका देखिएपछि मुख्यालय झिकाइएको हो । दुवै एसपीको त्यहाँबाट सरुवा हुने सम्भावना छ। 

त्यसो त समग्रमै सशस्त्र प्रहरीको कोशी प्रदेशको कमाण्ड कमजोर भएको रिपोर्टिङ गृह मन्त्रालय पुगेको छ। बाहिनीपति मनिष थापाको कार्यशैलीप्रति गृहमन्त्री सन्तुष्ट छैनन् ।

काममा गम्भीर नहुने र धेरै समय मनोरञ्जनमा बिताउने गरेको विषय गृह मन्त्रालयमा पुगेको छ । तत्कालका लागि उनलाई सचेत गराइएको र कमजोरी कायमै रहे सरुवा गर्ने चेतावनी दिइएको छ । 

सशस्त्र प्रहरीमा पछिल्लो नेतृत्व कमजोर भएको चर्चा छ। आईजीपी नारायणदत्त पौडेलले सरकारको गतिअनुसार संगठन चलाउन सकेका छैनन्। उनी आएलगत्तै कतिपय जिल्लामा बेथिती बढेको छ।

पौडेल भने काम गर्ने भन्दा शैलेन्द्र खनालको समयका बदनाम अधिकृतहरूलाई च्यापेर अघि बढ्ने प्रयासमा छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा सीमा नाकामा भइरहेको अवैध ओसारपसार नियन्त्रणमा नेतृत्व तहबाट प्रभावकारी भूमिका निर्वाह हुन नसकेको तथा केही गतिविधि शंकास्पद देखिएको निष्कर्षसहित उनीहरूलाई मुख्यालय बोलाइएको स्रोतको दाबी छ। छानबिनको अन्तिम प्रतिवेदनपछि दुवै एसपीको सरुवा हुने सम्भावना पनि बलियो रहेको बताइन्छ।

झापा र सुनसरी नेपाल–भारत सीमाका अत्यन्त संवेदनशील जिल्ला मानिन्छन्। दैनिक रूपमा उपभोग्य वस्तु, कपडा, इलेक्ट्रोनिक्स, कृषिजन्य सामग्रीदेखि अन्य विभिन्न वस्तुको अवैध आयात–निर्यात हुने गरेको भन्दै लामो समयदेखि गुनासा उठ्दै आएका छन्। सुरक्षा निकायले बेला–बेलामा तस्करी नियन्त्रणका अभियान सञ्चालन गरे पनि त्यसले दीर्घकालीन प्रभाव पार्न नसकेको आलोचना हुँदै आएको छ।

 थापा जिम्मेवारीप्रति अपेक्षित गम्भीरता नदेखिएको, नेतृत्व क्षमता कमजोर रहेको तथा अधिकांश समय प्रशासनिक कार्यभन्दा अन्य गतिविधिमा केन्द्रित हुने गरेको विषय मन्त्रालयसम्म पुगेपछि उनलाई मौखिक रूपमा सचेत गराइएको स्रोतले जनाएको छ।


स्रोतका अनुसार तत्काल सरुवा नगरे पनि कार्यसम्पादनमा सुधार नआए नेतृत्व परिवर्तन हुन सक्ने संकेत गृह मन्त्रालयले दिएको छ।

सीमा सुरक्षा, राजस्व संरक्षण र तस्करी नियन्त्रण सरकारको प्राथमिकतामा रहेकाले कमजोरी देखिएका कमाण्डरमाथि थप निगरानी बढाइएको जनाइएको छ।


पछिल्ला महिनाहरूमा सीमा नाकाबाट हुने तस्करी, राजस्व चुहावट र सुरक्षा निकायको प्रभावकारितामाथि निरन्तर प्रश्न उठिरहेका बेला झापा र सुनसरीका एसपीमाथिको कारबाहीलाई गृह मन्त्रालयले जवाफदेहिता स्थापित गर्ने सन्देशका रूपमा अघि सारेको सुरक्षा अधिकारीहरूको बुझाइ छ।

अब छानबिनले के निष्कर्ष निकाल्छ र त्यसपछि सीमा सुरक्षाको नेतृत्वमा कस्तो फेरबदल हुन्छ भन्ने विषयले सुरक्षा वृत्तमा विशेष चासो पाएको छ।