झापाको हल्दीबारी गाउँपालिकाले लक्षित बर्गका ब्यक्तिहरुलाई सामाग्री वितरण गरेको छ । आज बुधबार एक कार्यक्रमकाबिच पालिकामा अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सहायता सामग्री हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाले लक्षित वर्गअन्तर्गतका अपाङ्गता भएका तथा विपन्न समुदायका व्यक्तिहरूलाई ३ थान ठेला र ८ थान सिलाई मेसिन त्यसैगरी, दलित समुदायका व्यक्तिहरूलाई परम्परागत आरन व्यवसाय सञ्चालन तथा प्रवर्द्धनका लागि आवश्यक सामग्रीका ७ सेट वितरण गरेको हो । त्यस्तै विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले १७ थान साइकलसमेत हस्तान्तरण गरिएको गाउँपालिकाको अध्यक्ष रबिन्द्र प्रसाद लिंगदेनले जानकारी दिए ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, हल्दीबारी गाउँपालिका तथा करुणा फाउन्डेसनको संयुक्त लागत साझेदारीमा साइकल तथा सिलाई मेसिन वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल गजमेर, गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनाली लगायतले उक्त सामाग्री हस्तानतरण गरेका थिए । साथै, विद्यालय जाने विद्यार्थीहरूको शिक्षामा पहुँच सहज बनाउने उद्देश्यले साइकलसमेत वितरण गरिएको छ।
गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले गाउँपालिकाले लक्षित वर्गको आवश्यकता र सम्भावनालाई ध्यानमा राखी आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए। सहायता सामग्री वितरणलाई केवल राहतका रूपमा नभई आर्थिक गतिविधिमा जोड्ने माध्यमका रूपमा लिइएको उनको भनाइ थियो।
बिगत देखि नै हल्दिबारीले सिप र रोजगार सँग जोड्न बिभिन्न कार्यक्रमहरु गरिरहेको प्रमुख प्रशासकीय अधिकृतले महेन्द्र बनले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृत बनले स्वागत गरेको कार्यक्रमको सन्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।










































