झापा, साउन १३ । राष्ट्रिय युवा संघ नेपाल झापाको अध्यक्षमा बिशन लिम्बू चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल झापाको मंगलवार बिर्तामोडमा भएको  पाँचौ बिस्तारित बैठकबाट बिशन लिम्बूको अध्यक्षतामा  ८४ सदस्यीय  जिल्ला कमिटी गठन भएको हो । 

निर्माण व्यवसाय र कपडा व्यवसायमा संलग्न  लिम्बू  सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशील छन् । उनी  नगर खेलकुद विकास समिति बिर्तामोडका सचिव  र झापा गोल्डकपका  कार्यसमिति सदस्य  हुन् ।  

 नवगठित कमिटीको उपाध्यक्षमा उमेश मिश्र, सचिवमा सुलभ भण्डारी, सह सचिबमा संगिता खतिवडा र एसके लिम्बू  रहेका छन् । कोषाध्यक्ष चयन हुन बाँकी रहेको छ । अन्य सदस्यहरु रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा  झापा इन्चार्ज  खगेन्द्रराज आङदम्बेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  एमाले झापाका  जिल्ला कमिटी सचिव  तुलसी कार्की , उपसचिव तथा  मोर्चा प्रमुख अनिता कन्दङ्वा , युवा संघका कोशी प्रदेश अध्यक्ष फुर्वा लामा, केन्द्रीय अनुशासन आयोग सदस्य  सरोज मेहरा , जिल्ला कमिटी सचिवालय सदस्य  प्रवीण  पोखरेल , जिल्ला कमिटी सदस्य तथा फाँट इन्चार्ज सागर पोर्तेल ,  जिल्ला कमिटी सदस्य प्रकाश लिङ्देन , नगर अध्यक्ष सुवास भट्टराई ,  अनेरास्ववियूका  प्रदेश संयोजक  नारायण पोखरेललगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा  झापा इन्चार्ज  खगेन्द्रराज आङदम्बेले नवनिर्वाचित कमिटीलाई सपथ गराएका थिए । त्यस अवसरमा  निवर्तमान अध्यक्ष फुर्वा लामालाई विदाई गरिएको थियो ।