नेपाली युवा उद्यमी मञ्च एनवाइइएफ झापाको अध्यक्षमा बिर्तामोडका युवा व्यवसायी मिजास पोखरेल चयन भएका छन् । बिर्तामोडको होटल द किंग्सबेरीमा भएको संस्थाको तेस्रो अधिवेशनले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।

बिर्तामोडका युवा उद्यमी तथा व्यवसायी पोखरेल संस्थाको चौथो अध्यक्ष भएका हुन् । उनी मञ्च झापा शाखाको संस्थापक सदस्य थिए भने हाल प्रथम उपाध्यक्ष रहेका थिए । पोखरेलको कार्यकाल एक वर्षको हुनेछ ।

समितिको प्रथम उपाध्यक्षमा सुरज चौधरी र द्वितीय उपाध्यक्षमा अजित ढुंगाना चयन भएका छन् ।  चौधरी कार्यसमितिको सचिव र ढुंगाना कोषाध्यक्षको रुपमा रहनेछन् । उनीहरु दुवैजना बिर्तामोडका व्यवसायी हुन् ।

त्यस्तै, समितिको कार्यकारिणी सदस्यमा विशाल बिमली, मनिष साहेवाला, विकास अग्रवाल, आयुष बजगाईं, आशिष शर्मा, उत्सव उप्रेती, निरज चौधरी, सौभाग्य थापा र प्रनिसा बराल रहेका छन् ।

मञ्चका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत रुपेशजंग बेलबासेले नयाँ कार्यसमितिको नाम घोषणा गरेका थिए । संस्थापक अध्यक्ष प्रवेश बस्नेतले संस्था गठनको औचित्य र हालसम्म भएका गतिविधिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा संस्थाका पूर्वसदस्य मनिष झा, मञ्चका राष्ट्रिय अध्यक्ष सुदिप घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले शुभकामना मनतब्य राखेका थिए । 

झापामा तीन वर्षअघि गठन भएको मञ्चमा आलसम्म ७५ जना युवा व्यवसायी तथा उद्यमीहरू आबद्ध रहेका छन् । सन् २००३ मा स्थापना भएको मञ्चमा कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीसहित देशभरिमा १५ वटा शाखा रहेका छन् । १२ औँ शाखाको रुपमा झापा शाखा स्थापना भएको हो ।

नेपाली युवा उद्यमी मञ्च सार्क युवा उद्यमी मञ्च र विश्व युवा उद्यमी मञ्चको संस्थापक सदस्य हो । त्यसैगरी, कमनवेल्थ एसिया एलाइन्स अफ योङ एन्टरप्रेनर्सको पर्यवेक्षक सदस्य हो । मञ्च नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रबर्द्धक संस्था भएको जनाइएको छ ।

मञ्चमा आबद्ध हुनको लागि उमेरहद निर्धारण गरिएको छ । २० वर्ष देखि ४० वर्ष उमेर समूहका युवा व्यवसायीहरू मञ्चमा आबद्ध हुन सक्ने प्रावधान रहेको छ ।

नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने र युवा व्यवसायीहरूलाई व्यवसाय र उद्यमशीलताको बारेमा प्रशिक्षण तथा अवसरहरू प्रदान गर्ने उद्देश्यले मञ्च गठन गरिएको अध्यक्ष पोखरेलले बताए ।

अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा सबैसंग हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले आफ्नो कार्यकालमा परिणाममुखि काम गर्ने बताए । सदस्य अजित ढुंगानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मञ्चका सदस्य विकास बस्नेतले गरेका थिए । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा व्यवसायी , उद्योगी सहित सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।