बिर्तामोड । लेखापरीक्षण पेशाप्रतिको जनविश्वास कायम राख्न व्यवसायिक नैतिकता, स्वतन्त्रता, निष्पक्षता र गुणस्तरीय सेवामा विशेष ध्यान दिनुपर्नेमा झापाका लेखापरीक्षकहरूले जोड दिएका छन्।

IMG-20260801-WA0062

नेपाल अडिटर्स एशोसिएसन झापा (अडान) को २१औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरूले बदलिँदो आर्थिक तथा डिजिटल परिवेशसँगै लेखापरीक्षकको भूमिका र जिम्मेवारी पनि थपिँदै गएको बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल अडिटर्स एशोसिएसन (AUDAN) का केन्द्रीय उपाध्यक्ष बलराम चौधरीले लेखापरीक्षकको जिम्मेवारी वित्तीय विवरण परीक्षण गरी प्रतिवेदन दिनेमा मात्र सीमित नरहेको बताए। लेखापरीक्षकको प्रतिवेदनका आधारमा व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सरकार र आमसमाजले आर्थिक निर्णय लिने भएकाले पेशागत इमानदारी र विश्वसनीयता अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ थियो।

“हाम्रो प्रतिवेदनप्रति धेरै पक्षको विश्वास जोडिएको हुन्छ,” चौधरीले भने, “त्यसैले इमानदारी, स्वतन्त्रता, निष्पक्षता र गुणस्तरलाई पेशाको मूल आधार बनाउनुपर्छ।”

कोशी प्रदेश अध्यक्ष फणिन्द्र पराजुलीले अडिट पेशाको सबैभन्दा ठूलो सम्पत्ति भौतिक पूर्वाधार नभई विश्वास र विश्वसनीयता भएको बताए। पेशागत दक्षता अभिवृद्धिका लागि नियमित तालिम, अभिमुखीकरण तथा व्यवसायिक आचरणमा निरन्तर सुधार आवश्यक रहेको उनले बताए।

अडान झापाका अध्यक्ष पर्शुराम वुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव जयधर्म पोखरेल, केन्द्रीय सदस्य होमनाथ उप्रेती, माधव घिमिरे, खडानन्द गुरागाईं, कोशी प्रदेशका दिलबहादुर पौडेल, भलाकाजी कठेत तथा पूर्व जिल्ला अध्यक्ष चूडामणि चिमरियालगायतले अडिट पेशाका चुनौती, अवसर र पेशागत क्षमता अभिवृद्धिका विषयमा धारणा राखेका थिए।

कार्यक्रममा सहभागीहरूले नियामकीय व्यवस्था परिवर्तन, डिजिटल वित्तीय प्रणालीको विस्तार तथा बढ्दो व्यवसायिक उत्तरदायित्वका कारण लेखापरीक्षकले निरन्तर अध्ययन र आफ्नो ज्ञान तथा सीप अद्यावधिक गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको सञ्चालन अडान झापाका सचिव खिवलाल अधिकारीले गरेका थिए।