बिर्तामोड, साउन २० । विभिन्न क्षेत्रका मानिसहरुलाई डिजिटल प्लेटफर्ममार्फत गालीगलौज गर्ने, मिथ्या आरोप लगाउने तथा अपशब्द लेख्ने झापा हल्दीबारीका नितेश भनिने नवराज ओलीलाई पक्राउ गर्न झापा प्रहरीले आनाकानी गरेको छ ।

हल्दीबारी(१ गोलधापका २५ वर्षीय ओलीविरुद्ध एक दर्जनभन्दा बढी जाहेरी दर्ता र अदालतबाट पक्राउ पुर्जी जारी भए पनि झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले पक्राउ गर्न कुनै चासो दिएकी छैनन् । उनी अनेक बाहना बनाएर पन्छिँदै आएकी छन् ।

यसैबीच, साइबर अपराध मुद्दामा झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ३७ दिन बितिसक्दा पनि ओली पक्राउ नपरेपछि नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई एक साताको अल्टिमेटम दिएको छ ।

महासंघका उपाध्यक्ष सुब्रत न्यौपानेको नेतृत्वमा मंगलबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाउँदै एक साताभित्र ओलीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको हो ।

ज्ञापनपत्र गृह मन्त्रालय तथा महासंघका केन्द्रीय र प्रदेश समितिलाई पनि बोधार्थ पठाइएको छ । महासंघले २०८३ असार १५ गते जिल्ला प्रहरी कार्यालय झापामा साइबर अपराधको जाहेरी दिएपछि सोही दिन जिल्ला अदालतबाट ओलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

तर, एक महिनाभन्दा बढी समय बित्दासमेत उनी पक्राउ नपरेको भन्दै महासंघले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको हो । महासंघका अनुसार फरार रहेका ओलीले फेसबुक, म्यासेन्जर र ह्वाट्स एपमार्फत महासंघ, अध्यक्ष तथा पदाधिकारीविरुद्ध निरन्तर भ्रामक सामग्री पोस्ट गर्दै आएका छन् ।

यति हुँदाहुँदै पनि प्रहरीले पक्राउ गर्न नसक्नुले दण्डहीनतालाई प्रश्रय दिएको महासंघको आरोप छ । पत्रकारको सुरक्षामा चुनौती बढेको उल्लेख गर्दै महासंघले विभिन्न निकायको ध्यानाकर्षण गराइसकेको र अब पनि एक साताभित्र पक्राउ नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

यसअघि ओली जथाभावी तथा अश्लील लेखेको आरोपका २०८१ चैत ३ गते काठमाडौँबाट पक्राउ परेका थिए । लुकेर बसेको अवस्थामा उनलाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरेर थुनेको थियो ।

विदेशमा बसेर उनले झापाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतादेखि लिएर प्रहरी प्रशासन र पत्रकारहरुलाई समेत सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौज गर्ने, चरित्र हत्या गर्ने, विभिन्न आरोप लगाउने गरेका थिए ।

ओलीले केही समययता फेसबुकको दुरुपयोग गर्दै मिडियाको नाममा व्यवसायीलाई धम्क्याउँदै रकम असुली गर्दै आएको सार्वजनिक भइसकेको छ ।

आफूलाई पत्रकार बताउँदै विभिन्न सञ्चारमाध्यमको नाममा झापाका केही उद्योगी तथा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गरेको घटनाप्रति पत्रकार महासंघ झापा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाइसकेको छ ।