बिर्तामोड । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)  झापाले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले साइप्रसस्थित नेपोलिस विश्वविद्यालय, पाफोससँग विशेष एजेन्ट भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। 

बिर्तामोडस्थित होटल सिद्धार्थ ग्रान्ड सिटीमा आयोजित कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिहरूले साइप्रसमा उच्च शिक्षा अध्ययनका अवसर, भर्ना प्रक्रिया, छात्रवृत्ति, शुल्क संरचना तथा विद्यार्थी सहायतासम्बन्धी विविध पक्षबारे जानकारी गराएका हुन् । 

शैक्षिक परामर्श व्यवसायलाई गुणस्तरीय, व्यावसायिक तथा अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा इक्यान झापामा आबद्ध सदस्य शैक्षिक परामर्श संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै अध्ययनका अवसर, भिसा प्रक्रिया, विद्यार्थी सेवासुविधा तथा भावी सहकार्यका विषयमा जिज्ञासा राखेका थिए।

इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको  कार्यक्रममा इक्यान झापाका निर्वतमान अध्यक्ष इन्जिनियर रोशन सुबेदी तथा सल्लाहकार चिरन न्यौपानेको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा इक्यान झापाका सचिव विशाल सिटौलाले सञ्चालन गरेका थिए भने प्रशिक्षण विभागका संयोजक नवीन बोहोराले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पछिल्ला वर्षहरूमा नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय शिक्षाको आकर्षण बढ्दै गएको र त्यसअनुसार शैक्षिक परामर्श संस्थाहरूले पनि समयानुकूल अद्यावधिक जानकारी राख्नुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रममा नेपोलिस विश्वविद्यालयका नेपालका कन्ट्री म्यानेजर सुमन अधिकारी तथा नेपालका लागि भर्ना तथा बजार व्यवस्थापन प्रमुख मनिष पौडेलले विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विभिन्न संकाय, अध्ययनको वातावरण, छात्रवृत्तिका अवसर, शुल्क संरचना, भर्ना प्रक्रिया, विद्यार्थीलाई प्रदान गरिने सहायतामूलक सेवा तथा साइप्रसमा अध्ययन गर्दा प्राप्त हुने अन्तर्राष्ट्रिय अवसरबारे विस्तृत प्रस्तुति दिएका थिए।

उनीहरूले नेपोलिस विश्वविद्यालयले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको, विभिन्न मुलुकका विद्यार्थी अध्ययनरत रहेको तथा अध्ययनसँगै अनुसन्धान, सीप विकास र विश्वव्यापी रोजगारीका अवसरसँग जोडिने वातावरण निर्माण गरेको जानकारी दिएका थिए। साथै नेपाली विद्यार्थीहरूलाई आवश्यक परामर्श, अध्ययन अवधिभरको सहजीकरण तथा शैक्षिक सहयोगका विषयमा पनि जानकारी गराइएको थियो।

कार्यक्रममा इक्यान झापामा आबद्ध सदस्य संस्थाका प्रतिनिधिहरूले साइप्रसमा अध्ययनका सम्भावना, विद्यार्थीको सुरक्षा, रोजगारीका अवसर, भिसा प्रक्रिया, अध्ययनपछिको भविष्य तथा विश्वविद्यालयसँग दीर्घकालीन सहकार्यका विषयमा जिज्ञासा राखेका थिए।