झापा । जापानिज इन्सेफ्लाइटिस (जेईं) रोगको महामारी व्यवस्थापन तथा नियन्त्रणका विषयमा सञ्चारकर्मी र सरोकारवालाबीच प्रस्तुतिकरण तथा छलफल कार्यक्रम गरिएको छ । आज झापाको चन्द्रगढी स्थित जिल्ला समनवय समितिको सभाहलमा एक कार्यक्रमकाबिच अन्तरक्रिया समपन्न भएको हो ।
कार्यक्रममा जापानिज इन्सेफ्लाइटिसको अवस्था, रोगको जोखिम, रोकथामका उपाय, पहिचान तथा उपचारसँगै महामारीको समयमा अपनाउनुपर्ने सावधानीका विषयमा स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी प्रस्तुत दिएका थिए ।
छलफलका क्रममा जेईको जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो। रोगसम्बन्धी सही सूचना नागरिकसम्म पुर्याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने सहभागीहरूले बताएका थिए।सरोकारवालाहरूले जेई नियन्त्रणका लागि स्वास्थ्य संस्था, स्थानीय तह, सञ्चारमाध्यम तथा समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
साथै, रोगको लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार गराउन आग्रह गरिएको छ।कार्यक्रममा सञ्चारकर्मी तथा सरोकारवालाले जेई रोगको रोकथाम, जोखिम न्यूनीकरण र प्रभावकारी महामारी व्यवस्थापनका लागि आगामी दिनमा गर्नुपर्ने कार्यबारे समेत छलफल गरेका थिए।
झापामा जोखिम बढ्दै गएको र हालसम्म ११ जनामा जेई संक्रमित भएको पुष्टि र ती मध्ये ६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्ला समन्वय समिति झापाकि उप–प्रमुख शान्ता रोकाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड, अर्जुनधारा नगरपालिका, हल्दीवारी, बाह्रदशी र कचनकवल गाउँपालिका पनि जोखिममा रहेको बताइएको थियो ।
छलफल कार्यक्रममा हल्दीवारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले पालिकाको अवस्थाका बारेमा जानकारी दिएका थिए । साथै अन्य उपस्थित सरोकारवालाहरुले पनि आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले गरेका थिए ।










































