झापा : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि झापाकाे बिर्तामाेड २ मा मुख्य कार्यालय रहेकाे सहारा नेपाल सकाेसले १५ लाख रुपैयाँ सहयोग गर्ने भएकाे छ ।
नेपाल सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गरेको सहयोग आह्वानमा नेपालकै नमुना सहकारीकाे रूपमा पहिचान बनाउन सफल सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
विगत तीन दशकदेखि सहकारी क्षेत्रमा क्रियाशील सहारा नेपालले संस्था र कर्मचारी परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको हो।
सामाजिक उत्तर दायित्व वहन गर्दै संस्थाले थाेरै भए पनि सहयाेग गर्ने निर्णय गरेकाे कार्यकारी प्रमुख गिरीले बताए ।
सहारा नेपालका अनुसार उक्त सहयोग रकम रसुवा, नुवाकोटलगायत बाढी प्रभावित जिल्लामा उद्धार, राहत तथा पुनःस्थापनाका लागि उपयोग हुने विश्वास समेत गरिएको छ।
सहाराले आज एक बिज्ञप्ति जारी गर्दै संस्थाले विपद्को दुःखद घडीमा बाढी प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा सबैले आफ्नो इच्छाअनुसार सहयोग गर्न अपिल समेत गरेको छ।
संस्थाले बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोजी तथा उद्धारको प्रतीक्षामा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
“मेरो गौरव मेरो सहारा, सबैका लागि सधैंका लागि” भन्ने भावनाका साथ सहारा नेपालले विपद्का बेला मानवीय सेवामा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ। सहारा नेपाल साकाेसले यस अघि पनि हरेक आपत्त बिपत्तीमा सहयाेग गर्दै आएकाे छ ।









































