बाह्रदशी ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट घाइते भएकाहरूको जीवनरक्षाका लागि नेकपा (एमाले) बाह्रदशी गाउँपालिका कमिटीले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
एमाले बाह्रदशी गाउँपालिका कमिटीका अध्यक्ष अनिल सापकोटाका अनुसार बाढीबाट घाइते भएकाहरूलाई उपचारका क्रममा आवश्यक पर्ने रगतको अभाव हुन नदिन मानवीय सेवाको भावनाले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
भदौ १५ गते सोमबार झापाको बाह्रदशी गाउँपालिकाको पुरानो भवनमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा सबैलाई सहभागी भएर रक्तदान गर्न आयोजकले आग्रह गरेको छ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सञ्चालन हुने कार्यक्रममा संकलित रगत भोटेकोशी बाढीबाट घाइते भएकाहरूको उपचारका लागि आवश्यकताअनुसार पठाइने जनाइएको छ।
अध्यक्ष सापकोटाले विपद्को यस घडीमा घाइतेहरूको जीवनरक्षाका लागि सबैले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो। ‘मानवीय सेवा नै सबैभन्दा उत्तम सेवा हो’ भन्ने भावनाका साथ कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ।
उहाँले रक्तदानलाई जीवनदानका रूपमा लिँदै कार्यक्रममा अधिकतम सहभागिता जनाउन सबै रक्तदातालाई आग्रह गर्नुभएको छ।









































