बिर्तामोड । 

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट एक लाख २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याउँदै प्रभावित परिवारमा गहिरो पीडा र संकट निम्त्याएको भन्दै इक्यान झापाले विपद्को समयमा मानवीय सहयोगलाई प्राथमिकतामा राखेको हो।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका उपाध्यक्ष एवम् सामाजिक उत्तरदायित्व विभाग (सीएसआर) प्रमुख अशोक भण्डारीले बाढी प्रभावितको राहत तथा सहयोगका लागि इक्यान झापाको सीएसआर कोषबाट एक लाख २५ हजार रुपैंया उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए।

भण्डारीका अनुसार विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व हो। बाढीबाट प्रभावित परिवारको पीडा उनीहरूको मात्र नभई समग्र समाजको साझा पीडा भएकाले संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गर्ने निर्णय गरेको हो।

उनले विपद्का बेला विभिन्न विषयमा रहेका असहमति, गुनासा र अपेक्षाभन्दा मानवता ठूलो हुने बताए।  इक्यान झापाले विपद् प्रभावितलाई थप सहयोग जुटाउन आफ्ना सदस्य, शुभेच्छुक तथा सहयोगी मनहरूलाई समेत आग्रह गरेको छ।

व्यक्तिगत वा संस्थागत रूपमा सक्दो सहयोग गर्न आग्रह गर्दै इक्यान झापाले सहयोग रकम संस्थाले उपलब्ध गराएको क्यूआर कोडमार्फत जम्मा गर्न अनुरोध गरेको छ।

सहयोगको अभिलेख राख्ने प्रयोजनका लागि रकम जम्मा गरेपछि भुक्तानीको स्क्रिनसटसमेत उपलब्ध गराउन आग्रह गरिएको छ।

इक्यान झापाले विपद्का कारण कसैको घर उजाडिएको, कसैले प्रियजन गुमाएको र कसैको जीवनभरको कमाइ प्रभावित भएको अवस्थालाई संवेदनशील रूपमा लिन आग्रह गरेको छ। यस्तो कठिन समयमा गरिएको सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो सहारा र आशाको आधार बन्न सक्ने संस्थाको विश्वास छ।

भण्डारीले विपद्ले भूगोल छुट्याउन सक्ने भए पनि मानवताले सबैलाई जोड्ने बताए।

उनले अहिले विपद्मा परेका परिवारको दुःखमा साथ दिन सके भविष्यमा समाजका अन्य सदस्यलाई पनि संकटका बेला एकअर्काको साथ पाउने वातावरण निर्माण हुने धारणा व्यक्त गरे।

इक्यान झापाले असहमति र गुनासाभन्दा माथि उठेर मानवीय सेवाका लागि एकजुट हुन सबैमा आग्रहसमेत गरेको छ।

संस्थाका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगले बाढी प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउने अभियानमा आफ्नो सानो भए पनि योगदान पुर्‍याउने उद्देश्य राखेको छ।