बिर्तामोड ।
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विभिन्न परियोजनामा करिब १७ करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।
कम्पनीको छैटौँ वार्षिक साधारणसभामा आज शनिबार झापाकाे बिर्तामाेडमा कम्पनीले पर्यटन, जलविद्युत् तथा सूचना प्रविधिका क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्यसहित १७ कराेड लगानी गरेकाे जनाएकाे हाे ।
कम्पनीका अध्यक्ष लालप्रसाद साँवाका अनुसार मोरङको मिक्लाजुङस्थित रमितेमा ‘लुका भिलेज’ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ ।
मध्यमस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको सो परियोजनामा असार मसान्तसम्म करिब ४ करोड रुपैयाँ खर्च भइसकेको समेत कम्पनीले जनाएको छ ।
कम्पनीले ‘लुका भिलेज’, ‘लुका हिल्स’ र ‘लुका एडभेञ्चर’ कम्पनीका ड्रिम प्रोजेक्ट रहेकाे समेत जनाएकाे छ ।
कम्पनीले जलविद्युत् क्षेत्रमा समेत उल्लेख्य लगानी गरेको छ । धादिङको गोरक्ष हाइड्रोपावरमा ५ करोड ३० लाख रुपैयाँ, मनाङको लालुपाते हाइड्रोपावरमा २ करोड २० लाख रुपैयाँ, काबेली इनर्जीमा ५ करोड रुपैयाँ तथा लमजुङको नर्थ समिट हाइड्रोपावर र किसान नेटमा समेत लगानी गरिएको कम्पनीकाे प्रतिबेदनमा उल्लेख छ ।
त्यस्तै कम्पनीले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यी परियोजनालाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना समेत अघि बढाएकाे समेत जनाएकाे छ ।
असार मसान्तसम्म कम्पनीको बैंक मौज्दात १० करोड ९५ लाख ७३ हजार १२० रुपैयाँ रहेको छ । कम्पनीले २४ लाख रुपैयाँ आम्दानी गरेकोमा खर्च कटाएर १८ लाख ३७ हजार रुपैयाँ बचत गरेको जनाएको छ ।
साधारणसभामा लेखापरीक्षक सरोज श्रेष्ठले कम्पनीको वित्तीय अवस्थाबारे जानकारी गराएका थिए ।कम्पनीले आगामी दिनमा अधिकृत तथा जारी पुँजी वृद्धि गरी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारीसमेत अघि बढाएको छ ।
अध्यक्ष लिम्बूका अनुसार धितोपत्र बोर्डको मापदण्डअनुसार कम्पनीको अधिकृत पुँजी १ अर्ब रुपैयाँ र जारी पुँजी ७५ करोड रुपैयाँ कायम गर्ने प्रक्रिया अघि बढाइएको छ ।
आईपीओ निष्कासनपछि कम्पनीको लगानी क्षमता थप विस्तार हुने विश्वास कम्पनीको छ ।









































