बिर्तामोड, भदौ १५ । झापाको धुलाबारीमा रहेको पाँचतारे होटल मेची क्राउनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ ।

होटलका अध्यक्ष बलराम साकोटाले पर्यटनमन्त्री खड्कप्रसाद पौडेललाई भेटेर उक्त सहयोग रकम बराबरको २६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ ।

पछिल्लो समय बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति भइरहेको अवस्थामा निजी क्षेत्रबाट गरिएको यो सहयोगले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

होटल मेची क्राउनले विपद्को समयमा राज्यको राहत तथा उद्धार अभियानमा आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने सामाजिक दायित्व महसुस गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराएको जनाएको छ ।

होटलका अध्यक्ष साकोटाले चेक हस्तान्तरण गर्दै विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको सन्देश दिएका छन् ।

विपद्बाट पीडित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेकाले यस्ता सहयोगले राज्यको अभियानलाई थप बल पुग्ने विश्वास गरिएको छ ।