बिर्तामोड । 

वैदेशिक रोजगार व्यवसायी संघ झापाले गत भदौं १० गते रसुवाको भाेटेकोशीमा आएको बिनाशकारी वाढीपिडीतहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

झापाका म्यानपावर व्यवसायीहरुले स्वेछिक रुपमा बाढीपिडीतको राहतका लागि संकलन गरेको सहयोग रकम ४ लाख ५१ हजार संघ अन्तरगत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेको छ । 

संघले आज (सोमवार) बिर्तामोडमा एक संक्षिप्त कार्यक्रम गरी सहयोग रकम घोषणा गरेको हो । 

विशेष अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले प्रकोपमा परी ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै संघको परोपकारी कार्यको प्रशंसा गरेका थिए । उनले संघले यसअघि पनि यस्ता बिपत्तीमा सहयोग गर्दै आएको बताए ।   

संघका अध्यक्ष धनबहादुर पन्धाकले बाढी प्रभावितहरूलाई राहत र पुनःस्थापनाका लागि थोरै भएपनि सहजता होस् भन्ने उद्धेश्यले सहयोग गरेको बताए । 

अध्यक्ष पन्धाकले रकम सहयोग गर्ने सम्पूर्ण म्यानपावर व्यवसायीलाई धन्यवादसमेत दिए । 

उनले गत वर्षको बाढी प्रभावित इलाम तथा झापाका मानिसहरूलाई समेत सहयोग गर्नुका साथै जेनजी आन्दोलनबाट ध्वस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीको पुनःनिर्माणमा समेत संघले सहयोग गरेको स्मरण गरेका थिए । 

संघका प्रथम उपाध्यक्ष राजन सिलवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव नीरकुमार खत्री (नीरन) ले गरेका थिए । 

संघका अध्यक्ष पन्धाकको अध्यक्षतामा भएको कार्यक्रममा संघका द्धितीय उपाध्यक्ष प्रकाश राई, महिला उपाध्यक्ष सरिता बराल, सचिव राजेन्द्र पौडेल, पुष्पराज प्रसाई, कोषाध्यक्ष कृष्ण खतिवडा, सह–कोषाध्यक्ष प्रेमबहादुर निरौला, प्रवत्ता ओमप्रकाश भट्टराईसहित संघका कार्यसमिति सदस्य तथा व्यवसायीहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।